पुरुषले कोही महिलासँग बोल्नै भएन अब



विष्णुमाया ओझा, सदस्य, राष्ट्रिय समावेशी आयोग

० जमाना समावेशीको छ तर समावेशी आयोगमा किन कोही आउन चाहँदैनन् ?

– आउन चाहनेको प्रतिष्पर्धा तीव्र छ । नियुक्त गर्ने निकायमा समस्या भएर हो कि भन्ने लाग्छ ।

० अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएर हिँड्नुपर्ने कारण के थियो ?

– उहाँले खासै केही भन्नुभएन । मैले बुझेअनुसार, उहाँको रुची बित्त आयोगमा रहेछ । अघिल्लो दिनसम्म हामी बैठकमै थियौं । म कार्ययोजना बनाएर हेटौंडा हिँडे । उहाँले त्यही दिन राजीनामा दिनुभएछ । पहिल्यैदेखि म पूरै कार्यकाल त बस्दिनँ होला भन्नुहुन्थ्यो तर अनुमान गर्छु, खोजेको ठाउँ नपाएका कारण राजीनामा दिनुभयो ।

० अधिकांश आयोग पदाधिकारीविहीन छन् । कर्मचारीको भरमा मात्र चल्नुपर्ने अवस्था छ । राज्यले आयोगहरुलाई उपेक्षा गरेको हो ?

– अधिकांशमा अध्यक्ष नियुक्त भइसकेका छन् । सदस्य र अध्यक्षको नियुक्ति भएको चाहिँ समावेशी आयोग मात्रै हो । त्यहाँ अध्यक्षले राजीनामा दिएर हिँडे पनि काम प्रभावित भएको छैन । सचिव, उपसचिव र कर्मचारी हुनुहुुन्छ । चाडपर्व सकिएको छ । संवैधानिक आयोगहरुका परिभाषित काम फरक–फरक छन् । समावेशी आयोगकै कुरा गर्दा खस आर्य (क्षेत्री, बाहुन, गिरी, पुरी, भारती, ठकुरी) को खर्च स्वीकृत गर्नका लागि प्रोसेस सुरु भएको छ । प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै छौं । अन्य आयोगभन्दा फरक तर बृहत कार्यक्षेत्र छ हाम्रो । अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, औपचारिक अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, किसान, सिमान्तकृत, कर्णाली र सोसरहका जिल्ला, पिछडावर्ग (सूचीकृत २९ जात), तेश्रो लिंगी, हाम्रो कार्यक्षेत्रभित्र पर्दछन् । अनुगमन, अनुसन्धान, छलफल, बहस गरी कानुनले दिएको अधिकार पाएका छन् वा छैनन् ? विभेद कहाँ भएको छ ? कहाँ संशोधन गर्नुपर्ने हो ? जात–जातिपिच्छे संस्कृतिको संरक्षण गर्ने काम आयोगकै कार्यक्षेत्रभित्र पर्छ ।

० कस्ता चुनौती छन् ?

– कर्णाली विकासका लागि अनगिन्ती योजना पुगे तर परिणाम देखिँदैन । जनताको जीवनस्तर जहाँको त्यहीँ । किसानलाई अनुदान दिने तर वास्तविक किसानको हातमा नपुग्ने । अनुगमन गर्नुपर्ने छ । बिचौलियालाई कसरी विस्थापित गर्ने र किसान हक–हितका लागि कस्ता नीति बनाउने ? यसबारे सरकारलाई सुझाव दिने हो । तेस्रो लिंगीको हक हित, नागरिकतामा विभेद, श्रमिकका समस्या, खस आर्यहरुकै गुनासोको चाङ छ । कुन थर क्षेत्री, कुन थर बाहुन ? गिरीभित्र वा पुरीभित्र को–को पर्ने ? त्यसको परिभाषा हामीले गरिदिनुपर्ने छ । आरक्षणका कारण हामी अन्यायमा प¥यौं भनेर खस आर्यले आन्दोलन गरिरहेको स्थिति छ ।

० बाहुन–क्षेत्रीमाथिको अन्याय कसरी हल हुन्छ ?

– उहाँहरुसँग लगातार बहसमा छौं । इतिहासै खोतल्नुपर्ने स्थिति छ । आरक्षणका कारण ब्राह्मण नै ओझेलमा पर्ने हो कि भन्ने भान हुँदोरहेछ । कसैलाई पनि अन्याय नहुने गरी यो राज्य, देश, संस्कार, संस्कृति मेरो हो भन्ने गरी काम गर्नुछ । बढीभन्दा बढी अधिकारका कुरा सिकायौं । तर, कर्तव्यचाहिँ उस्तै । अधिकार र कर्तव्यलाई सँगसँगै लैजानु पर्छ । कतिपय संस्कार नै परिवर्तन गर्नुपर्ने छ । मानसिकतामा वर्षांैदेखि जरा गाडेर बसेको अन्धविश्वासमा आधारित संस्कार परिवर्तन र संस्कृति, भाषा जगेर्ना गर्नुपर्ने छ । अहिले पनि लिखित कानुन ऐन भन्दा अलिखित हिजोदेखिका संस्कार एक पुस्ताले अर्काे पुस्तालाई हस्तान्तरण गरिरहेका छौं । यसलाई ब्रेक गर्न आवश्यक छ । आरक्षण भनेको पछि परेको समुदायलाई अघि ल्याउनका लागि हो । आरक्षणमा आएर मात्र अघि आइने होइन । क्षमता पनि चाहिन्छ । बोकिदिएर त कोही निश्चित ठाउँमा पुग्लान्, तर खेल्नुपर्ने भूमिका वा प्रदर्शन गर्ने कार्यक्षमता आफैँमा निर्भर हुन्छ । क्षेत्री, बाहुन पनि गरिब छन् । खान नपाउने ठकुरीहरू प्रशस्तै छन् । उनीहरु थिचोमिचोमा परेका छन्, पिछडिएका छन् ।

० आरक्षण स्थायी विषय हो वा आवधिक ?

– सधैंभरि दिइने आरक्षणले मान्छे वा समुदायहरु कमजोर हुन्छन् । प्रतिस्पर्धा गर्नै चाहँदैनन् । स्वस्थ प्रतिस्पर्धा जबसम्म हुँदैन, तबसम्म आरक्षण हो । त्यसपछि आरक्षण दिनुहुँदैन । सधैंभरि आयोगको आवश्यकता पनि छैन । समावेशी सबै मिलाएर बनाउनुपर्नेमा किन क्षेत्री–बाहुनको मात्रै नियुक्ति भयो भनेर अस्ति हाम्रो नियुक्त गरिँदा पनि प्रश्न उठ्यो ।

० कुनै समय अनेमसंघमा विद्यादेवी भण्डारीसँग काम गर्नुभएको । अहिले कत्तिको सम्पर्क भेटघाट हुन्छ ?

– आयोगको कामको सिलसिलामा आवश्यक प¥यो भने सम्पर्क हुन्छ । भूमिका नै फरक–फरक भयो । हिजो सांगठानिक जिम्मेवारीले साथमा थियौँ । आज उहाँको पद र हाम्रो पदका निश्चित सीमा छन् ।

० उहाँको नेतृत्व शैली कस्तो पाउनुहुन्छ ?

– एकदमै असल लाग्छ । राष्ट्रका लागि अलि फराकिलो सोच बनाएर लाग्नुपर्छ । नयाँ ढंगले काम गर्नुपर्छ भन्नुहुन्थ्यो । आज पनि भेट हुँदा सानो मन बनाएर, संकीर्ण सोच राखेर होइन, फराकिलो सोचाई राखेर सफल हुने ढंगले काम गर्नुपर्छ भन्ने सोच रहेको पाउँछु । उहाँको भावना पवित्र छ । अहिले देशभर स्थानीय तहका ३५ बाहेक अरु स्थानमा महिला उपप्रमुख छन् । यो विद्यादेवी भण्डारीकै पहलमा भएको हो । उहाँले नै प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्था बनाउन पहल गर्नुभएको थियो । बाध्यकारी नबनाएको भए उपप्रमुख कति हुन्थे, थाहा छैन । ०५४ तिर जिविसमा एकमात्र उपसभापति हुनुहुन्थ्यो, भोजपुरमा । त्यतिखेर नेपालभर उपसभापति बन्ने अरु महिला थिएनन् । अहिले त निस्किए नि † बाध्यकारी नबनाएसम्म उपस्थिति नहुने रहेछ । यो ठूलो अवसर हो, दिदी बहिनीहरुका लागि । जो आउनुभएको छ, उहाँहरुले आफूलाई क्षमतावान बनाउनुपर्छ । प्रतिस्पर्धामा उत्रिएर काम देखाउने मौका यही हो ।

० सभामुख कृष्णबहादुर महरा काण्डमा परेपछि उपसभामुखले सदन चलाउन नपाउनु कत्तिको न्यायोचित हो ?

– उपसभामुखलाई सभामुख बनाएर अरु कसैलाई उपसभामुख बनाए पनि भयो । संविधान बनाउँदा नै ध्यान दिनुपथ्र्यो । अहिले संकट परेपछि अधिकार कति रहेछ भन्ने कुरा उठ्यो ।

० नयाँ सभामुख चुन्ने नाममा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई बलिको बोका बनाइँदैछ भन्ने सुनिन्छ । त्यस्तै हो र !

– उहाँको इच्छाविपरित भयो भने अन्याय हुन्छ । उहाँले मन्त्री बन्छु भन्ने कि सभामुख नै हुन्छु भन्ने ? कुरा त्यहाँ छ । प्रधानमन्त्रीज्यूले बोलाएरै सोधेको भन्ने सुन्छु । उहाँकै इच्छाअनुसार गर्दा ठीक नहोला ।

० महराजस्तै भीभीआइपी तहबाट यौन हिंसा भएको मुद्दा तपाईंहरुको आयोगमा कत्तिको छ ?

–अपांगता भएका व्यक्तिबाट उजुरी आएको छ, लोकसेवाको विज्ञापन अन्याय भयो भनेर । एकजना दलित महिला पनि आउनुभएको थियो । उहाँलाई दलित आयोगमै पठाइदिएँ ।

० एक जना मुख्यमन्त्रीले यौनहिंसा गरेको विषयमा तपाईं जानकार हुनुहुन्छ ? पीडितले कहिले न्याय पाउनुहुन्छ ?

– उहाँहरुको बीचमा के सम्बन्ध थियो ? बीचमा के भयो ? के कुरा नमिलेर बाहिर आयो ? यो कोणबाट पनि सोच्नुपर्छ । तपाईंले भनेको विषयसँग सम्बन्धित महिलासँग मेरो एकपटक भेट भएको हो, आयोगमा आउनुअघि नै । उहाँले म बिहे गर्न चाहन्छु भन्नुभयो । विवाह भनेको एक्लैले चाहेर हुँदैन होला । जवर्जस्त विवाह गर्न सक्दैनौं भनेर पठाइदिएँ । तपाईंले आरोप मात्र लगाएको हो कि ? पेटमा यदि बच्चा भए डिएनए परीक्षण गराएर अदालतले नै न्याय दिलाउँथ्यो भनेँ ।

० पछिल्लो समयमा मन मिलुञ्जेल माया प्रेम, मन टुटेपछि बलात्कार हुन थाल्यो भनिन्छ नि !

– जसले, जसलाई आरोप लगाइदिए पनि हुनेभयो । मलाई एक जना केटा मन परेको थियो । विवाह गर्न मन लागेको थियो । विवाह गर्न मानेन । उसलाई त्यही आरोप लगाइदिए पुग्यो । यदि यस्तै हो भने त पुरुषहरुले कोही महिलासँग बोल्नै भएन । वर्ष लगाएर बनाएको पहिचान, छवि एकछिनमा नष्ट हुने । हिजो मन मिलुञ्जेल के भयो, हामीलाई थाहा छैन । बेलैमा सबै सचेत हुनचाहिँ जरुरी छ । यो पाटोमा म महिला भए पनि अन्धाधुन्द महिलाको समर्थन गर्दिनँ । (जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्