चार ओभरमा सन्दीपको तीन विकेट



काठमाडौं  : सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बासअन्तर्गत दोस्रो खेलमा सोमबार होबार्ट हुरिक्यान्सविरुद्ध तीन विकेट लिएका छन् ।

 

नेपाली राष्ट्रिय टोलीका युवा लेगस्पिनर सन्दीपले हुरिक्यान्सविरुद्ध चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिइसकेका छन् । आफ्नो तेस्रो बलमा पहिलो विकेट लिएका उनले व्यक्तिगत तेस्रो र चौथो ओभरमा पनि विकेट लिने क्रमलाई निरन्तरता दिए । 

सन्दीप बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । उनले सोमबार आफ्नो पहिलो ओभरको तेस्रो बलमा एलेक्स डुलानलाई २ रनमा आउट गरे । पहिलो बलमा एक रन दिएका उनले दोस्रो बल डट फालेपछि तेस्रो बलमा डुलानलाई बोल्ड गरे । 

आफ्नो तेस्रो ओभरको दोस्रो बलमा विपक्षी कप्तान म्याथु वेडलाई आउट गरेका उनले चौथो ओभरको पहिलो बलमै बेन म्याकडेर्मोटलाई पेवेलियन फर्काए । वेडलाई उनले एडम जाम्पाबाट क्याच गराएका थिए भने म्याकडेर्मोटलाई एलबिडब्लु धरापमा पारेका थिए । 

योसँगै जारी बिग बास लिगमा सन्दीपको विकेटसंख्या पाँच पुगेको छ । शुक्रबार सिडनी थन्डर्सविरुद्धको डेब्यु खेलमा उनले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्