किर्ते गरी जग्गा किनबेच : मालपाेतका ६ कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं : जग्गा किर्ते गरी बेचेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका ६ कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा साेमबार मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय चाबहिलका कर्मचारीको मिलेमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौं बुढानीलकण्ठ नगरपालिका, साविक विष्णु गाविस वडा नं. ७ ग को कित्ता नं. ३२३, ३२५ र ३२९ गरी दुई रोेपनी आठ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत तयार पारी हक हस्तान्तरण गरेको अभियोग लगाएको छ ।

 

राजु थापा मगरले आफूलाई चन्दनकृष्ण कायस्थ बताई चाबहिल मालपोतका कर्मचारीको मिलेमतोमा अवैध रुपमा जग्गाको हक हस्तान्तरण गरेको अख्तियारले जनाएको छ । थापाले स्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उप्काई आफ्नो फोटो टँसाउनसमेत सफल भएको अख्तियारको अध्ययन देखाएको छ । 

थापासमेतका अभियुक्तले नक्कली प्रमाणपुर्जा र नागरिकताको प्रमाणपत्रसमेत खडा गरी–गराई तिनै कागजातका आधारमा अधिकृत वारेसनामामार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानुनी तरिकाबाट जग्गा खरिदबिक्री गरेको अख्तियारले जनाएको छ । उनीहरुले आफूसमेतलाई गैरकानुनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानुनी हानि पुर्याउने कार्य गरेको अख्तियारको आरोप छ ।

 

यस्तै मालपोत कार्यालय चाबहिलका कर्मचारीले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई–सच्याउन लगाई नागरिकको निजी सम्पत्ति उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक अधिकारसँग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट विमुख भएको अभियोग अख्तियारले लगाएको छ ।

मुद्दा दायर गरिएकामा मालपोत कार्यालय चाबहिलका प्रमुख कमलप्रसाद तिमल्सिना, मालपोतअधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदीलगायत छन् । मुद्दा चलाइएका व्यक्ति, कायम गरिएको बिगो र माग गरिएकाे सजायसम्बन्धी विस्तृत जानकारी तलको टेबुलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्