मुख्यमन्त्रीको ‘टोन’ बदलियो, अब मद्रसामा पनि आधुनिक शिक्षा



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायभित्र बालबालिका शिक्षा प्रवद्र्धन गर्न आग्रह गरेका छन् । अलहुदा एजुकेसन एन्ड वेलफेयर सोसाइटीले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको सामाजिक, राजनीतिक र आर्थिक उन्नयनका लागि बालबालिका शिक्षामा जोड दिनुपर्ने बताए ।

प्रदेश सरकार सबै जातजाति र समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले राज्यले प्रदान गर्ने अधिकारमा पहुँच बढाउन पनि शिक्षा आवश्यक रहेको प्रस्ट पारे ।

प्रदेश सरकारले ल्याउन लागेको मद्रसा बोर्ड विधेयकले इस्लामिक शिक्षाका साथै आधुनिक शिक्षाको पनि ग्यारेन्टी गरेको जानकारी दिँदै उनले विधेयक पारित भएपछि मद्रसामा अध्ययन गर्ने छात्रछात्रा समेत राज्यको मूलधारमा समाहित हुने बताए । 

अब्दुला जोलमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीलगायतका वक्ताले सम्बोधन गरेका थिए । योग्य शिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजन गरिएको तालिममा मुलुकका विभिन्न मद्रसाका ६० जना विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्