यस्तो छ डिल्लीबजारमा महराको दैनिकी



काठमाडौं : तत्कालिन सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि अदालतको आदेश अनुसार काठमाडौंको डिल्लीबजारस्थित कारागारमा छन् ।

यौनदुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरा प्रहरी हिरासतमा रहँदा अस्वस्थ बनेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउँदै आएपनि थुनामा राख्ने अदालतको आदेशपछि उपचार समेत कारकागारमै गर्ने गरी डिल्लीबजारमा राखिएको छ ।

विवादित अवस्थामा महराद्वारा प्रतिनिधिसभा सदस्यको सपथ खुवाईएका रेशम चौधरी पनि सोही कारागारमा महरासँग भेटघाट गरेका छन् । त्यसैगरी भ्रष्टाचारको आरोपमा जेलजीवन बिताइरहेको पूर्व आईजीपी रमेशचन्द ठकुरी महराको रुमपार्टनर बनेका छन् ।

ठकुरी रुम पार्टनर बनेका छन् भने टिकापुर काण्डमा दोषि ठहर्याईएका चौधरी महराका साथी बनेका छन् । कारागारका एक सुरक्षाकर्मीका अनुसार महरा जेलभित्र धेरैजसो मौन र निरास अवस्थामा देखिन्छन् । त्यतिसाह्रो कसैसँग बोल्दैनन् । कोठमा खाटमा पल्टिरहने महराले केही पुस्तकहरु पढ्ने ईच्छा गरेपछि आफ्न्तहरुले पुस्तक पुर्याईदिएका छन् ।

विशेष गरि ईतिहाससँग सम्बन्धित पुस्तकहरु पढ्ने महराको रुचि देखिन्छ । बिहान उठेपछि सामान्य व्यायाम गर्ने महरा अधिकांश समय पलङमा ढल्केर बस्ने गरेका छन् । खाना खाने समयबाहेक उनी कोठाभित्रै बस्ने गरेको बताईन्छ ।

महरा अहिले न्यायायिक हिरासतमा रहेका छन् । न्यायिक हिरासत भन्नाले कुनै अभियुक्तलाई मुद्दाको पुर्पक्षको क्रममा अदालतको आदेशले थुनामा राख्ने कार्य हो । मुद्दाको पुर्पक्ष भनेको मुद्दाको अन्तिम निर्णय भने होइन । पुर्पक्ष भन्नाले कुनै अदालतमा दायर भएको मुद्दाको कारवाहीका सिलसिलामा अपनाइने प्रक्रिया हो ।

महरा पुर्पक्षका लागि थुनामा गएपछि अब साक्षीका बकपत्र माथि छलफल हुने जिल्ला न्यायाधिवक्ताले बताएका छन् । प्रतिवादीका वकिलले न्यायाधीश सामुन्ने साक्षीलाई जिरह गर्नेछन् । जिरह भनेको साक्षीहरूले प्रहरीमा प्रस्तुत गरेका व्यहोरामाथि पुनःसवाल जवाफ गर्नु हो ।

यस्तै, महराका तर्फबाट रहेका साक्षीहरुसँग सोधपुछ हुनेछ । प्रतिवादी र प्रतिवादीका साक्षीलाई एकैसाथ बोलाएर जिरह गरिनेछ ।

उनले संघीय संसद्की कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन् । महराले पीडितको घर नजिक गएको तर फोन सम्पर्क नभएपछि फर्केको बयान प्रहरी र अदालतलाई दिएका छन् ।

महरा विरुद्धको अभियोगपत्रमा ‘मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो’ भनी उल्लेख छ । जसअनुरुप, महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरेको छ । सो उपदफामा ‘कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने’ व्यवस्था छ ।

१९ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी (बलात्कार) भए कसूरदारले ७ देखि १० वर्षसम्म कैद सजाय पाउँछन् । जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मा आधा सजाय हुन्छ । यसअनुसार साढे तीन देखि साढे पाँच वर्षसम्मको सजाय हुन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा डेढी लगाई थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्