धनगढी विमानस्थलमा बुद्ध एयरले मात्रै सेवा दिने



कैलाली : सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थलमा आठ दिनसम्म बुद्ध एयरको सेवा मात्रै सञ्चालन हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि पुस १० गतेदेखि १७ गतेससम्म बिहान ६ देखि साँझ ६ बजेसम्म विमानस्थल बन्द हुने भएको छ । 

 

नागरिक उड्डयन कार्यालय धनगढीका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको कुल लम्बाईको दुई सय ५० मिटर धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपर्ने बताए । 

 

धनगढीमा काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई-दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्दै आएका छन् । काठमाडौं-धनगढी-काठमाडौं रुटको हवाई उडानबाट दैनिक करिब सातसय जनाले सेवा पाइरहेका छन् । 

 

अबको आठ दिनसम्म बुद्ध एयरले हरेकदिन साँझ ५ बजे काठमाडौंबाट र धनगढीबाट साँझ ६:३० बजे उडान भर्ने योजना बनाएको छ । 

 

बुद्ध एयरका धनगढी शाखा प्रमुख बुधराम माझीका अनुसार हरेकदिन साँझ ७२ जनाले आउन र ७२ जनाले जानको लागि मात्रै सेवा पाउने छन् । धनगढी विमानस्थल काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई सेवामार्फत् जोड्ने प्रमुख विमानस्थल हो ।

प्रतिक्रिया दिनुहोस्