सहर सफा राख्न सार्वजनिक बसमा डस्टबिन



जनकपुरधाम : जनकपुर र आसपासमा चल्ने सार्वजनिक सवारी साधनमा डस्टबिन राखिएको छ । यात्रुले बसको झ्यालबाट जथाभाबी फोहोर फाल्दा सहर कुरूप बनेको भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनिक बसहरूबाट निस्कने फोहर व्यवस्थित गर्न डस्टबिन राखिएको हो । 

हरेक सार्वजनिक बसमा दुई–दुई वटा प्लास्टिकको बाल्टिन (डस्टबिन) राखिएको छ । बसको झ्यालबाट फोहोर फाल्ने संस्कार हटाउन र फोहर मैला व्यवस्थापन गर्न हरेक सार्वजनिक बसमा डस्टबिन राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । 

कार्यक्रममा नागरिक समाजका अगुवा अमरचन्द्र अनिलले सहर सफा राख्ने अभियानमा सम्पूर्णको सहयोग आवश्यक रहेको बताए । उनले बसमा यात्रा गर्दा झ्यालबाट जथाभाबी खाने कुरा खाएर  फोहोर फाल्ने बानीमा सुधार ल्याउन यात्रुसँग आग्रह गरे ।

कार्यक्रममा सहभागी अन्यले सवारी साधनबाट निस्कने फोहोर बसभित्रकै डस्टबिनमा फाल्ने बानीको विकास गर्न चालक र सहचालकको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । 

यो कार्यक्रम प्रदेश २ को आठ वटै जिल्लामा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्