बालक अपहरण गर्ने दास प्रहरी नियन्त्रणमा



नरेश सर्राफ / पर्सा : पर्सा प्रहरीले १४ वर्षीया बालक अपहरण घटनामा संलग्न रहेको पर्साको पोखरीया नगरपालिका ६ सोनवारी बस्ने २० वर्षीय राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी अपहरणकर्तालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी गराएका हुन् ।

वीरगन्ज महानगरपालिका २५ श्रीसिया स्थायी घर भएका अमजद खान हाल काभ्रेको बनेपामा छोरालाई लिएर बस्दै आएका थिए । उनीसँगै काम गर्दै आएका दासले गत कात्तिक १० गते बालकको अपहरण गरी १२ लाख फिरौती रकम माग गर्दै आएको प्रहरी उपरीक्षक राठौले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मंगलबार दिउँसो फिरौतीको रकम बुझाउँन जाँदा वीरगन्जको श्रीसिया खालवा टोलाबाट अपहरणकारी दासको खुट्टामा गोली हानी नियन्त्रणमा लिएको दावी प्रहरीले गरेको छ ।

गोली लागेर घाइते दासको अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दासको साथबाट बिआर २२ जे ०८०३ भारतीय मोटरसाईकल, कटुवा पेस्तोल १ थान, कटुवाको चेम्बरमा लोड गरिएको १ राउण्डसहित ५ गोली, मोबाईल १ थान र एउटा व्याग बरामद गरेको छ ।

अपहरित बालकको सकुशल उद्धार गर्न सफल भएको प्रहरी प्रवक्ता एवं डीएसपी गौतम थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्