राहत लिएर मुख्यमन्त्री अग्निप्रभावित क्षेत्रमा



सुर्खेत : कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । 

आइतबार राति भएको आगलागीमा सात जना घाइते हुनाका साथै ५० घरधुरी पूर्ण क्षतिग्रस्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीले जानकारी दिए । 

नेपाली सेनाको हेलीकोप्टरमार्फत राहत सामग्री लिएर मुख्यमन्त्री शाहीसँगै राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाहीलगायत अग्निप्रभावित क्षेत्रमा पुगेका थिए ।  

सङ्घीय सरकारका तर्फबाट तीन हजार केजी चामलसहित दाल, नुन, तेललगायत सामग्री अग्निपीडितलाई उपलब्ध गराइएको छ । त्यस्तै कालीकोटका तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्