नेकपा प्रदेश २ कमिटीका सदस्य बैठा पाँच लाख लिई फरार



वीरगन्ज : पर्साको पोखरीया नगरापालिका १ बनकटवा निवासी रामबाबु बैठाले नेपाल प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिन्छु भन्दै एक युवकसँग पाँच लाख लिई फरार भएका छन् ।

नेकपा प्रदेश २ कमिटीका सदस्य समेत रहेका बैठाले रौतहट साविक गाविस पथरा बधुराम घर भई आल मौलापुर गाउँपालिका ७ का प्रदीप कुमार साहलाई असईमा जागिर लगाईदिँछु भन्दै पाँच लाख लिइ फरार भएको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित साहले बुधबार नेपाल पत्रकार महासंघ पार्स शाखाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा आफू नेकपा सदस्यसँग ठगिको जानकारी दिँदै साहले भने–‘बैठाले असईमा जागिर लगाई दिन्छु भनेर २०७२ असोज २१ गते १ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएको थियो त्यसपछि २०७२ माघ १२ गते पटक पटक गरी थप ४ लाख गरी जम्मा ५ लाख रुपैयाँ लिए ।’

बैठाले आफ्नो निकट कालिकामाई गाउँपालिका ३ का सुनिल चौरसियाको नाममा आईएमईमार्फत रकम माग गरी ठगी गरेको पीडित साहले बताए ।

प्रमाणसहित बैठा र चौरसियाविरुद्ध ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको २० दिन वितिसक्दा पनि प्रहरीले मुख्य आरोपी बैठालाई भने पक्राउ नगरी उल्टै संरक्षण दिएको उनको आरोप छ ।

पीडित साहको उजुरीको आधारमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको र चौरसियालाई मंगलबार दिउँसो उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिए । तर, मुख्य आरोपी बैठा भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्