महरा प्रकरणबारे प्रचण्डले गरे यस्तो खुलासा



दाङ : तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणमा अहिलेसम्म मौन रहेका नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले महरा निर्वाचित जिल्लामा पुगेर मुख खोलेका छन् । लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका दाहालले पहिलोपटक आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् ।

‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गरेको बताउदै महरा प्रकरणबारे आफूले जानकारी माग्दा महराले गलत कुरा बताएको खुलासा गरेका छन् । अध्यक्ष दाहालले थपे– ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’

महरा प्रकरण अहिले अदालती प्रक्रियामा रहेको बताउँदै दाहालले भने –‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ राजनीतिक रुपमा बोल्नु अहिले उपयुक्त हुँदैन। जुन विषय अदालतमा निर्णय प्रक्रियामै छ। त्यो अदालतको प्रक्रियाद्वारा नै एउटा टुंगो लागोस् भन्नेमा प्रमुख राजनीतिक नेतृत्वले त्यसलाई सम्मान गर्नुपर्ने नै हुन्छ। कहीँ न कहीँ महराजीको त्रुटि भएको थियो भन्ने कुरा प्रस्ट भइनै सकेको छ।अझ केले पनि स्थिति अलि जटिल जस्तो देखियो भने जब यो कुरा बाहिर आयो, बाहिर आइसकेपछि मैले पार्टी अध्यक्षको हैसियतले अर्को अध्यक्षसँग पनि समन्वय गरेर के हो कुरा ? जसरी मिडियामा आयो कुरो त्यस्तै हो त ? भनेर सचिवालयका एक जना कमरेड र नारायणकाजी कमरेडलाई पठाएको थिएँ।’

पत्रकार सम्मेलनमा पत्रकारहरुको जबाफ दिने क्रममा अध्यष दाहालले आफूलाई महराले घटनाका विषयमा जस्ताको तस्तै नबताएको खुलाए । पार्टीप्रवक्ता श्रेष्ठको रिपोर्टपछि बालुवाटार पुगेको बताउदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग गंभिर छलफल भएको कुरा पनि बताए ।

दाहालले भने –‘जे भए पनि पार्टीमा आन्दोलनमा महराजीको केही पनि योगदान थिएन भनेर कसैले पनि भन्न सक्दैन र होइन पनि। युद्धका क्रममा मात्रै होइन, शान्ति प्रक्रिया निर्माणमा पनि उहाँको योगदान भएको कुरा संसारलाई नै थाहा छ। यत्रो वर्ष सँगै काम गरेको कमरेड पनि हुनुको नाताले मैले प्रधानमन्त्रीजीसँग सल्लाह गरेर आफैं गएर एकचोटी भेट्छु भनेर गएँ। जे हो त्यही जस्ताको तस्तै भन्नुस् चिजहरु बडो जटिल ढंगले आयो भन्दा उहाँले त्यहाँ पनि साँचो कुरा सुरुमा भन्नु भएन। उहाँले मोरल गल्ती त गर्नु भएकै रहेछ त्यो भन्दा ठूलो गल्ती आफ्नो लिडरलाई ढाँट्नुभयो।’

प्रतिक्रिया दिनुहोस्