‘चौरमा बसेर आफ्नै मुटु जलेको टुलुटलु हेर्न बाध्य भयौं’ 



सुर्खेतः आगलागीबाट कालिकोटको एक गाउँ एकैरातमा खरानी भएको छ । एउटा घरको छतमा लागेको आगोले पुरै गाउँलाई नै सखाप बनाएको छ । 

 

कालिकोटको पलाँता गाउँपालिका–खाडान्यौपानेवडाका नविन न्यौपानको घरबाट आइतबार राती आगो लागेको थियो । महिला, बालबच्चा र कर्मचारीहरु डेरा गरेर बस्ने घरको खरले छानो भएको तेस्रो तलाबाट आगो लागेको बताइएको छ । 

नविनको घरका सबैजना घरभित्र भएकाले आगो लागेको लामो समयसम्म थाहा पाएनन् ।  जब थाहा भयो घरको छानो सखाप हुनै आँटको थियो । तलबाट हानिएको हावाले अर्को घरको छानोमा आगो सल्कँदै गर्दा मात्रै गाउँलले आगो लागेको होहल्ला गरे । 

 

गाउँलेको होहल्ला के हो ? भनेर बुझ्न बाहिर निस्केका डेरावालाले आफ्नै छतमाथि आगो लागिरहेको देख्दा अचम्ममा परे । आगो दन्किदै गएपछि आफ्नो ज्यान बचाउन उनीहरु सफल भए तर घरभित्रको सामान भने जोगाउन सकेनन् ।  

    आगो नियन्त्रणका लागि सबै गाउँले जम्मा भए पनि आगोले एकपछि अर्को घरको छानो समात्दै गएकाले आगो निभाउन कसैको डेग नचलेको पलाँता गाउँपालिकाकी उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन् ।

 

 गाउँमा महिला, बालबच्चा र जेष्ठ नागरिक मात्रै भएकोले दन्किरहेको आगाे नियन्त्रणमा ल्याउन सकेनन् ।

 

मध्यराती नविन न्यौपाने र मनिचन्द्र न्यौपानको घरबाट सुरु भएको आगो नियन्त्रणका लागि प्रहरीलाई खबर गरेपछि धेरै टाढा भएका कारण रातभर प्रहरी पुग्न नसकेको उपाध्यक्ष न्यौपानेको भनाइ छ ।

 

 एकपछि अर्को घर आगोले समात्दै गएपछि स्थानीयले अत्यावश्यक मालसामान बाहिर सारे र आफ्नै आँखा अगाडि ओत जल्दै गरेको घरको प्रत्यक्षदर्शी बने गाउँलेहरु । 

 

    ‘हामीले आगो निभाउन धेरै प्रयास गर्‍यौं, तर दनदनी बलिरहेको आगो हाम्रो नियन्त्रमा आउन सकेन’ स्थानीय पीडित कुसराज न्यौपानले भने, ‘निभाउन नसक्नेभएपछि केही समान र पशुवस्तु बाहिर निकाल्यौं, चिसोमा हामी खुला चौरमा बसेर आफ्नै छानो जलिरहेको हेर्न बाध्य भयौं ।’ 

 

आगलागीबाट ८७ वटा घर जलेर पूर्ण रुपमा नष्ट भए । एक सय ६९ घर भएको खाडागाउँका ८७ घर खरानीमा परिणत भएका छन् । अहिले ती घरहरुको भग्नावेश मात्रै बाँकी रहेको छ । सोमबार बिहान मात्रै प्रहरी पुगेपछि आगो नियन्त्रणमा आएको थियो । 

 

        आगलागीबाट ७ जना मानिस घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय निमित्त प्रमूख देवेन्द्रकुमार मल्लका अनुसार घाईते हुनेहरुमा ७० वर्षीया चन्द्ररुपा संज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय बिष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिस्मा न्यौपाने र ९वर्षीय रत्न न्यौपाने छन् । चन्द्ररुपा संज्यालको अवस्था गम्भीर रहेको मल्लले बताए । १९ वटा गाइगोरु, दुई भैंसी र दुईवटा बाख्रा मरेका छन् ।

 

आगोबाट करोडौंको क्षति भएपछि गाउँपालिकाले सबैलाई पीडितको पुर्नस्थापनका लागि सहयोगको अपिल गरेको छ । 

 

पीडितलाई राहत स्वरुप जिल्लाका तीनवटा स्थानीय तहले नगद सहयोगको घोषणा गरेका छन् । तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरले एक लाख, शान्नित्रिवेणी गाँउपालिकाले २ लाख दिने घोषणा गरेका छन् । 

 

 यता कर्णाली प्रदेश सरकारले भने आगलागीबाट पीडितलाई सोमबार नै राहत उपलब्ध गराएको छ । प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टरमार्फत राहत सामग्री बोकेर घटनास्थलमा पुर्‍याएका छन् । 

राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेश सभा सदस्य कुर्मराज शाही सहित मुख्यमन्त्री शाही राहत सामाग्री लिएर सोमबार नै खाडान्यौपानेवाडा पुगेका हुन् ।

 

 मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फबाट तत्कालीन राहत स्वरुप नगद २० हजार, एकसय थान ब्ल्यांकेट, पाँच वण्डल पिफम, एकसय थान सिरक डसना, चाउचाउ, विस्कुट चिउरा  लगायतका सामग्री पीडितलाई उपलब्ध गराएको छ । 

 

यस्तै मुख्यमन्मत्री शाहीले गृहमन्त्रालयको तर्फबाट प्राप्त भएको त्रिपाल ६० थान, जुत्ता एकसय थान,  ज्याकेट एकसय थान, ट्राउजर एकसय थान र दुईसय थान ब्ल्यांकेट लिएर नेपाली सेनाको हेलिकोप्टर मार्फत अग्नी पीडित क्षेत्र पुर्‍याएका छन् । 

केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्माबाट तीनहजार किलो चामलसहित दाल, नुनतेल लगायतको अतयावश्यक खाद्यान्न सामाग्री अग्नीपीडितलाई उपलब्ध गराइएको छ । यस्तै विगत तीन वर्षको अवधिमा आगलागीबाट कर्णालीमा १८ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्