उपनिर्वाचनका लागि मनोनयन आज, ५२ स्थानका लागि १ सय १ दलको प्रतिस्पर्धा



काठमाडौं : आगामी मंसिर १४ हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्दैछन् ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो । यि ठाउँका पदहरुका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । ३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा एक सय एक राजनीतिक दल सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मसम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन आयोगले जनाएको हो । दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

२२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले सार्वजनिक गरेको छ ।

२४ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छन् । त्यस्तै २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन्  । ०७४ मा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १ सय १ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूलाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ ।

उपनिर्वाचनमा आयोगले चार लाख ५४ हजार १ सय १४ मतदाता निश्चित गरेको छ । ०७४ को निर्वाचनपछि १६ हजार दुई सय १९ मतदाता थपिएका हुन् । पुरुष मतदाता २ लाख २० हजार ७ सय १० र महिला मतदाता २ लाख ३३ हजार ४ सय दुई रहेका छन् ।

उपनिर्वाचनका लागि आयोगले २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकेको छ ।

कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन
कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ। सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका ६ का वडाध्यक्षको राजीनामा दिएका हुन् । न्वय समितिमा निर्वाचित भएका थिए ।

जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ७, लमजुङको सुन्दरबजार नगरपालिका २, बागलुङको बडीगाड गाउँपालिका २, प्यूठानको ऐरावती गाउँपालिका १ र २, सल्यानको कुमाख गाउँपालिका ५ र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ रहेका छन् ।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडामा पाँचथरको फिदिम नगरपालिका १ र हिलिहाङ गाउँपालिका ७, भोजपुरको पौवादुङमा गाउँपालिका १, मोरङको धनपालथान गाउँपालिका २, सुनसरीको धरान उपमहानगरपालिका ७, सङ्खुवासभाको खाँदबारी नगरापालिका ३, खोटाङको साकेला गाउँपालिका ३, सिरहाको कल्याणपुर नगरपालिका १२, महोत्तरीको बलवा नगरपालिका २ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका १ र रौतहटको गढिमाई नगरपालिका २ रहेको छ ।

यस्तै बाराको बारागढी गाउँपालिका १, पर्साको सखुवा प्रसौनी गाउँपालिका ५, रामेछापको उमाकुण्ड गाउँपालिका ५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका २, काठमाडौंको दक्षिणकाली नगरपालिका ३, चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका ५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६, अर्घाखाँचीको मालारानी गाउँपालिका ३, प्यूठानको प्यूठान नगरपालिका २, रोल्पाको थवाङ गाउँपालिका १, दाङको घोराही उपमहानगरपालिका १६, बाँकेको कोहलपुर नगरपालिका ६ मा पनि उपनिर्वाचन हुँदैछ ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका १, अछामको मेल्लेख गाउँपालिका ५, डोटी आदर्श गाउँपालिका २, बैतडीको पुर्चौडी नगरपालिका ४, सुर्नया गाउँपालिका १ र दोगडाकेदार गाउँपालिका ४ तथा कपिलवस्तुको शिवराज नगरपालिका १० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका सन्द्यभमा कास्की, भक्तपुर, बागलुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्