किसानले मल पाएनन्



धनगढी : गहुँ बालीको ‘टप ड्रेसिङ’ गर्ने सिजन सकिन लाग्दा पनि किसानले मल पाउन सकेका छैनन् । टप ड्रेसिङका लागि किसानलाई युरिया मलको अभाव छ ।

 

‘गहुँ लगाउने बेला किसानले चाहिने जति डीपीए मल पाउन सकेनन्,’ हसुलियाका किसान भदैया चौधरीले भने, ‘अहिले गहुँ बालीको टप डेसिङ गर्ने बेला युरिया चाहिएको छ । कताबाट ल्याउने ?’

 

उनले मल उपलब्ध गराउन नसक्ने सरकारले कृषिमा क्रान्तिका कुरा गर्दा हाँसो उठ्ने बताए । सीमावर्ती जिल्ला भएको फाइदा किसानले पाइरहेको बताउँदै चौधरीले भने, ‘सीमामा बस्ने भारतीय सुरक्षा बल एसएसबीले मल ल्याउन दिँदा खेतमा हाल्न पाएका छौ ।’ भारतबाट अवैध रूपमा भित्रिएको मल किसानको खेतमा पुगिरहेको छ ।

 

‘भारतबाट अवैध रूपमा भित्रिएको मल किसानलाई महँगो पर्छ,’ भजनीका कर्मदेव चौधरीले भने, ‘नेपाली मल नपाउँदा किसानले तस्करले भित्र्याएको मल प्रयोग गरिरहेका छन् । त्यहाँबाट आयात भएको मलमा मिसावट हुने भएकाले गुणस्तरहीन छ । तस्करहरूले सिलबन्दी मल खोलेर पुन: प्याकेजिङ गरी किसानलाई तौल र गुणस्तरमा ढाँटिरहेका छन् ।’

 

सरकारले किसानलाई चाहिने जति मल कहिल्यै पनि आपूर्ति गर्न नसकेको थापापुरका किसान गंगा चौधरीले बताए । ‘चाहिएका बेला डीएपीको पनि अभाव भयो, अहिले युरिया पाउन सकिएको छैन,’ उनले भने । मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले गत मंसिर १८ गते नै युरिया सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्