विद्यार्थी उचाल्ने शिक्षकलाई कारबाही गर्छौं : मेयर सरावगी



वीरगन्ज : महानगरपालिकाले आठ विद्यालयका प्रधानाध्यापक सरुवा गरेको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । सोमबार सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारी विद्यार्थीहरू प्रदर्शनमा उत्रिए । 

सरुवाको विरोध गर्दै आठमध्ये दुई विद्यालयका विद्यार्थी बिहान सात बजेदेखि नै घण्टाघर चोकमा लठ्ठी र भाटा लिएर प्रदर्शनमा उत्रेका थिए । पाँच सयभन्दा बढीको संख्यामा रहेका विद्यार्थीले घण्टाघर चोकमा टायर बाली प्रदर्शन गरेका हुन् ।

उनीहरूले घण्टाघर चोकमा सवारीसाधन आवतजावतमा रोक लगाएका थिए । आन्दोलनका क्रममा विद्यार्थीले सवारीसाधनमा तोडफोडसमेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

उनीहरूले प्रधानाध्यापक सरुवा फिर्ता गर, वीरगन्जका मेयर मुर्दावादजस्ता नारा लगाएका थिए । 

विद्यार्थीको प्रदर्शन उग्र बनेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज पनि गरेको थियो । लाठी चार्जबाट आधा दर्जन विद्यार्थी सामान्य घाइते भएका छन् । 

महानगरपालिकाले गरेको प्रधानाध्यापक सरुवाले नजिकिँदै गरेको एसईई परीक्षा प्रभावित हुने भएकाले सरुवा प्रक्रिया तत्काल फिर्ता लिनुपर्ने विद्यार्थीको माग छ । 

यता प्रधानाध्यापक सरुवाको विरोधमा शिक्षक पनि आन्दोलित छन् ।

शिक्षक आन्दोलनका कारण महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजारभन्दा बढी विधार्थीको पढाइ प्रभावित भएको छ । 

महानगरपालिकाको शिक्षा महाशाखाले गत बिहीबार एकैपटक आठ माध्यमिक विद्यालयका प्रधानाध्यापकको सरुवा गरेको थियो । 

महानगरले गरेको सरुवासम्बन्धी निर्णयबाट शिक्षक असन्तुष्ट भएपछि पेसागत शिक्षक संघसंगठनले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मंगलबार महानगरका सबै सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

प्रधानाध्यापकको सरुवा नियमसम्मत र प्रक्रियाविपरीत रहेको भन्दै नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय लोकतान्त्रिक शिक्षक युनियन र अखिल नेपाल शिक्षक संगठनले सोमबारदेखि विद्यालय बन्द गराएका हुन् । 

वीरगन्ज महानगरमा १९ वटा माध्यमिकसहित कुल ६० वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा २० हजार एक सय ८५ विधार्थी अध्ययनरत छन् । 

महानगरको शिक्षा महाशाखाले आठवटा माविका प्रधानाध्यापकको सरुवा गरे पनि दुइटा मावि त्रिजुद्ध र माइस्थान विद्यापीठमा मात्रै सरुवाको विरोध भएको छ । यता शिक्षकहरूले भने महानगरका सबै ६० वटा विद्यालय बन्द गराएका छन् । 

सरुवामा परेका माईस्थान विद्यापीठका प्रधानाध्याक विनोद मेहतामाथि विद्यार्थीलाई उचालेर सरुवाको विरोध गराएको आरोप लागेको छ । त्यस्तै मेयर विजय सरावगीमाथि पनि राजनीतिक स्वार्थका लागि प्रधानाध्यापक सरुवा गराएको आरोप छ ।

पुस १४ गते पर्सामा हुन लागेको महासंघको निर्वाचन भाड्ने नियतले मेयर सरावगीले आफ्नो दलनिकटका प्रधानाध्यापक सरुवा गरेको आरोप नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवको छ । अध्यक्ष यादवले संघीय र प्रादेशिक शिक्षा ऐन जारी नभएको अवस्थामा मेयर सरावगीले आफ्नो पदको दुरुपयोग गरेको आरोप पनि लगाए । 

यता मेयर सरावगीले भने महानगरको शिक्षा महाशाखाले विधि र प्रक्रिया पु¥याएर मात्र प्रधानाध्यापकको सरुवा गरेको दाबी गरेका छन् । प्रक्रियागत सरुवामा शिक्षक आन्दोलनको कुनै तुक नरहेको उनको भनाइ छ । 

शिक्षा क्षेत्रमा देखिएको माफियातन्त्रलाई तोड्न र शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रधानाध्यापक सरुवा गरिएको सरावगीको भनाइ छ ।  दुईवटा विद्यालयबाहेक अन्य सबैले सरुवालाई सहजै स्वीकारेको भन्दै मेयर सरावगीले दुई प्रधानाध्यापक असन्तुष्ट हुँदैमा निर्णयबाट पछि नहट्ने बताए । 

विधार्थीलाई उक्साएर सडकमा उतार्ने अराजक प्रधानाध्यापक र शिक्षकविरुद्ध महानगरले सम्बन्धित निकायको सहकार्यमा कारबाही प्रक्रिया थालिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्