राजधानी तोकिएको क्षेत्रमा अवैध उत्खनन (भिडियोसहित)



कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीको तेघरी क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । गोदावरी नगरपालिकाका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रको खोलामा अवैध उत्खनन गरिँदै आएको हो ।

गोदावरी नगरपालिकाले त्रुटिपूर्ण वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा उत्खनन गर्न दिएको हो । गोदावरी नगरपालिकाले तयार पारेको प्रतिवेन त्रुटिपूर्ण भएकाले उत्खनन अनुमति नदिइएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ । 

गत असोजदेखि प्रतिवेदन तयारी र पारित गर्ने अधिकार स्थानीय तहमा नै गएपछि नगरपालिकाले प्रतिवेदन तयार गरी नदीजन्य पदार्थ उत्खनन गर्न सुरु गरेको हो ।

यससम्बन्धी सबै अधिकार स्थानीय तहसँग भएकाले समितिसँग अनियमितता रोक्ने कुनै अधिकार नभएको ओझाले बताए ।

सोही प्रतिवेदन नगरपालिकाले जबरजस्ती पास गरेर उत्खनन गरिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन तीव्र पारिएपछि उक्त कार्य रोक्न स्थानीयले माग गरेका छन् ।

स्थानीयले जथाभावी नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्दा आगामी दिनमा बाढीको प्रकोप बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘विगतमा गोदावरी खोलामा आएको बाढीका कारण निकै नोक्सानी बेहोर्नुपरेको थियो,’ गोदावरी नगरपालिकाका खेमराज जोशीले भने, ‘नगरपालिकाले नै बाढी नियन्त्रणका लागि तटबन्ध बनाएको स्थानमा अहिले ढुंगा, बालुवा र गिट्टी उत्खनन तीव्र बनाइएको छ ।’

नगरपालिकाले भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पास भएपछि सोहीअनुसार नै उत्खननका लागि अनुमति पाएको क्षेत्र गोदावरी खोलाको महराटोलदेखि गोदावरीघाट (चिहान) सम्म नदीजन्य पदार्थ उत्खनन गरिएको जनाएको छ ।

नगरपालिकाले टेन्डर आह्वान गरी १ करोड २० लाखमा स्वार कन्स्ट्रक्सन प्रालि चौरपाटी अछामलाई उत्खनन अधिकार दिएको नगरपालिकाका आन्तरिक लेखापरीक्षण अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

जिल्ला समन्वय समितिले त्रुटिपूर्ण र उत्खनन गर्न नमिल्ने भन्दै पास नगरेको प्रतिवेदन नगरपालिकाको अधिकार क्षेत्रमा गएपछि एकाएक पास भएर नदीजन्य पदार्थको उत्खनन हुनुको पछाडि  आर्थिक चलखेलको आशंका स्थानीयको छ ।

राजस्व संकलनकै लागि स्थानीय तहले आफूखुसी प्रतिवेदन तयार गरेर प्राकृतिक स्रोतको दोहन गर्नु दुर्भाग्यपूर्ण भएको सर्वसाधारणको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्