सिमरा–पाेखरा सिधा हवाई सेवा



काठमाडाैं : लामो समयदेखि बन्द रहेको मनाङको हुम्डे विमानस्थलमा पुन: हवाईसेवा सञ्चालनमा आउने भएको छ । समुद्री सतहबाट ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा पुस २४ गतेदेखि पोखरा विमानस्थलबाट उडान भरिने छ । 

 

२०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियाे । तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएता पनि यात्रुको चापअनुसार नियमित सञ्चालन गर्न सकिने गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए ।

 

२०७१ बैशाखदेखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हुँदै आएको थियो। हवाई सेवा सुचारु भएपछि मनाङमा उत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवाबाट निर्यात गर्न सहज हुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशी पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ।

 

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५-०७६ को नीति कार्यक्रममार्फत् पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

 

सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सोमबार प्रदेशका पर्यटनमन्त्री लम्सालसहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले जहाज उडाउने निर्णय गरेका हुन्।

 

उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोस्राे सातादेखि उडान भर्नेछ । दुवै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए।

 

उनका अनुसार जहाज उडानका लागि यात्रु सुनिश्चितताको जिम्मा सम्बन्धित स्थानिय तहले लिनुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्झौता गर्नेछ। यात्रु सुनिश्चितताको जिम्मा सिमराको लागि जितपुर उपमहानगरपालिका र मनाङ जिल्लाका स्थानिय तहहरुले सहमति जनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्