उपेन्द्रको द्धैध चरित्र : काठमाडौंमा विरोध, जनकपुरमा स्वागत



जनकपुर : सत्तरुढ दल समाजवादी पार्टीले सातै प्रदेशका प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्तिका विषयमा कडा आपत्ति जनाएको बेला त्यही पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जनकपुर पुगेर २ नम्बर प्रदेशका प्रमुखलाई स्वागत गरेका छन् ।

ओली सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष यादवले काठमाडौंमा विरोध गर्ने तर जनकपुर पुगेर स्वागत गर्ने कार्यशैलीप्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ । यादव र उनको पार्टीको यस्तो द्धैध चरित्र देखेर समाजवादी पार्टीकै नेता तथा कार्यकर्ता आश्र्चयमा परेका छन् ।

विमानस्थलमा प्रदेश प्रमुख परियारलाई स्वागत गर्न पुगेका यादवको अनुहार भने हेर्न लायक थियो । अनुहार हेर्दा मलिन र बेचैनि देखिन्थ्यो ।

यस विषयमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै सरकारको कडा आलोचना गरेका थिए । आन्दोलनको लागि तयार हुनुपर्ने भन्दै गरिएको ट्वीटमा भट्टराईले भनेका छन्–‘वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनःपुष्टि भएको छ ।’

प्रदेश प्रमुख परियारलाई स्वागत गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उपप्रधान तथा स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युम्न कार्की र प्रदेश २ का प्रदेशसभा सदस्यहरुले जनकपुर विमानस्थल पुगेर थिए ।

प्रदेश २ पुगेका नवनियुक्त प्रदेश प्रमुख परियारले हिजै पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्