प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि छुरा प्रहार



वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा एक किशोरीमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनी गम्भीर घाइते भएकी छिन् । पर्सागढी नगरपालिका– १, बागवानाकी शकुन्तला चौधरीमाथि सोमबार  स्कुल जानेक्रममा छुरा प्रहार भएको पर्सा प्रहरीले जनाएको छ ।

बडनिहारस्थित श्री जनता उच्च माध्यमिकको कक्षा ११ मा अध्ययनरत छात्रा चौधरीमाथि भटनी गाउँका राजकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् । राजकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तलामाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

राजकिशोरले पटकपटक प्रेम प्रस्ताव राखे पनि शकुन्तलाले उनको प्रस्ताव  अस्वीकार गरेपछि छुरा प्रहार गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।  

छुरा प्रहारबाट गम्भीर घाइते भएकी शकुन्तलालाई वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  

छुरा प्रहारले शकुन्तलाको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । छुरा प्रहारबाट उनको तिघ्रामा गहिरो घाउ हुनुका साथै नाक र ओठमा पनि गम्भीर चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

 

घाउबाट अत्यधिक रक्तस्राव भएका कारण शकुन्तालाको अवस्था चिन्ताजनक नै रहेको र हाल उनलाई  सघनकक्षमा राखी उपचार भइरहेको चिकित्सकले जनाएका छन् । छुरा प्रहार गर्ने चौधरीलाई मानवा प्रहरी चौकीले पक्राउ गरेको छ । 

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरी नायब उपरीक्षक राईले बताए । घटनामा संलग्न चौधरीलाई हदैसम्म कारबाहीको माग गर्दै आक्रोशित  स्थानीयले केही बेर मानवा प्रहरी चौकीसमेत घेराउ गरेका थिए । 

स्थानीयले प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै चौकीको कम्पाउन्ड वालसमेत  भत्काएका थिए । प्रहरीले दोषी चौधरीलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आक्रोशित स्थानीयलाई सम्झाइबुझाइ आआफ्नो घर फर्काएको थिए ।

प्रतिक्रिया दिनुहोस्