बिवाहको लोभ देखाउदै बलात्कार गर्ने युवा यसरी पुगे प्रहरी खोरमा




काभ्रे : मानिस कतिसम्म यौनआशक्तिले मात्तिएको हुन्छ भन्ने कुरा बेलाबखत हुने घटनाले पुष्टि गर्दै गएको छ । हुन त यौन मानिसको जीवनमा आवश्यक पनि छ । तर यसो भन्दैमा पशुभन्दा तल गिर्न नहुने हो तर हाम्रो समाजमा यस्ता नरपिपासु व्यक्तिहरुको कमी छैन ।

यस्तै खालको हर्कत गर्ने एकजना युवा खोरमा जाकिएका छन् । श्रृखंलाबद्ध करणी गरेको अभियोगमा पक्राउ परेका ती युवक पुर्पक्षको लागि कारागार चलान भएका हुन् । आधा दर्जन युवतीलाई विवाहको प्रलोभन देखाएर करणी गरेको र दर्जनौं व्यक्तिलाई ठगी गरेको अभियोगमा २७ वर्षीय युवकविरुद्ध उजुरी परेको थियोे । युवक पुर्पक्षमा गएपछि दुई महिला आफूलाई पनि श्रीमती बनाउने प्रलोभनमा शारीरिक सम्बन्ध राखी श्रीमान्ले पठाएको वैदेशिक रोजगारको पैसा ठगेको भन्दै प्रहरीसमक्ष पुगेका छन् ।

१८ वर्षीया युवतीलाई बेपत्ता बनाएको उजुरी परेसँगै रसुवा जिल्ला झोर्ले गाविस–२ मा जन्मिएका किशोर गोलेलाई प्रहरीले काठमाडौंबाट समातेको छ । काभ्रेपलाञ्चोक जिल्ला साविक होक्से गाविस घर भएकी युवतीलाई गोलेले ललाई फकाई विवाह गर्ने बहानामा बेपत्ता बनाएका थिए । ०७६ भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती ०७६ भदौ १४ देखि परिवारसँग सम्पर्कमा थिइनन् ।

०७६ भदौ १७ गते अपरिचित व्यक्तिले युवतीका बाबु–आमालाई फोन गरी २ लाख भए छोरी छुट्ने भन्दै बार्गेनिङ गरेका थिए । परिवारले २०७६ भदौ १८ गते प्रहरीकोमा जाहेरी दिए ।
जाहेरी परेलगत्तै प्रहरीले गोलेलाई मोबाइल ट्रेसका आधारमा पक्राउ गरेको हो । किशोर पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाईएकी युवती फेला परेकी हुन् । २०७६ असार ३ गते किशोर आफ्नो छद्म नामसहित पाँचखाल नगरपालिका–४ मा इशारा अपांग बालमैत्री संस्था दर्ता गर्न पुगेका थिए ।

संस्था दर्ता गर्ने क्रममा किशोरीका बाबुसँग चिनजान भयो । सोही आधारमा किशोरले पाँचखाल–४ मा कार्यालय राख्ने र प्रबन्ध निर्देशक आफू रहने गरी सिडियोमा दर्ता नम्बर २१२३ को संस्था दर्ता गरे भने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–८ का रमेश तामाङलाई अध्यक्ष बनाए । रमेश तामाङ किशोरको जेठो श्रीमतीका दाजु हुन् । उनीहरू दुवै मिली ठगी धन्दा संस्थागत गरेका थिए ।

संस्था दर्तासँगै किशोरले दिपेश गुरुङका नामबाट पाँचखाल नगरपालिकामा २०७६ असार १५ गते बालगृह दर्ता गरेको जानकारी गराए । चोमोलुङमा मिडिया अनलाइनको कार्यालय खोलेर अन्तर्वार्ता लिन थाले । उक्त अनलाइनको कार्यालय पुतलीसडक काठमाडौंमा समेत छ । जसमा दिपेश गुरुङ कार्यालय प्रमुख रहेको परिचय पत्र बनाइएको छ ।

आरुघाट– गोर्खा र पाँचखाल ठेगाना उनै किशोरले दिपेश गुरुङका नाममा कञ्चन म्युजिक प्रालिका कार्यालय प्रमुखको परिचयपत्र बनाएका छन् । उनका १३ वटाजति फेसबुक आईडी रहेको अविवाहित भन्दै युवतीसँग प्रेम गर्ने, शारीरिक सम्बन्ध राखी अलपत्र पारिदिने, विवाहित श्रीमती र बच्चालाई बेवास्ता गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पाँचखालमा स्टुडियो राखेका किशोरले शुरुमा दिदीलाई कार्यालयमा बोलाएर काम दिए तर पैसा दिएनन् । उनैसँग तामाङ समुदायको परम्पराअनुसार दुई पटक विवाह गर्ने भन्दै सगुन खाए । र, श्रीमतीझैं व्यवहार गर्न थाले ।

दिदीसँग सम्बन्ध रहेपछि स्टुडियोमा बहिनीलाई बोलाएर काम दिए । बहिनी र दिदी दुवैले गरिब व्यक्तिहरूसँग अन्तर्वार्ता लिने र युटुबमा राख्ने भन्दै जानकारी गराउन थाले । बहिनी र उनीबीच शारीरिक सम्बन्ध भएपछि दिदीसँग खाएको सगुन त्यागे । दिदीलाई आफू बिरामी भएकाले विवाह गर्न नसक्ने बताउँदै बहिनीसँगको सम्बन्धलाई गहिरो बनाए । उक्त कुरा दिदी–बहिनीलाई जानकारी भएन ।

किशोरले बनेपा नगरपालिका–६ रातमाटेमा डेरा लिए । बनेपाको एक पसलबाट फर्निचरका सबै सामान उधारोमा खरिद गरे । झण्डै २ लाख रुपैयाँँ लिन बाँकी रहेको भन्दै पसलेले प्रहरी कार्यालयमा उजुरी दिए । भदौ ६ गते किशोरले बहिनीलाई काठमाडौंको स्टुडियोमा काम छ भन्दै लगेर घर फर्काएनन् । बनेपास्थित डेरामा राखे ।

भदौ १४ गतेसम्म उनी घरको सम्पर्कमा थिइन् । १५ गतेबाट सम्पर्क गर्न दिएनन् । १६ गते दिउँँँसो युवतीसँग सम्बन्ध राखेको भिडियो बनाए । १३ मिनेट लामो भिडियोमा युवतीको पनि मौन स्वीकृति देखिन्छ । अभिभावकले छोरी हराएको कुरा तीव्र बनाएपछि किशोरले बहिनीलाई डेरामै लुकाएर दिदीलाई लिई काठमाडौं गए । बानेश्वरमा बोलाएका किशोरले त्यही रात होटल पु¥याई दिदीलाई पनि जबर्जस्ती गरे । त्यहीबेला उनले जनकपुरमा आफ्नी बहिनी जेलमा रहेको र निकाल्न २ लाख धरौटी तिर्नुपर्ने भएकोले उक्त रकम आईएमई गरिदिने भए छोरी भेट्टाइदिने बताएका थिए ।

प्रहरीले पहिले बेपत्ता भएकी युवतीकी दिदीलाई पक्राउ गरी एक रात नियन्त्रणमा राख्यो । उनले खुलाउन चाहिनन् । प्रहरीले उनैको सहयोगमा किशोरलाई समात्यो । किशोर पक्राउ पर्दासमेत युवतीबारे केही पत्ता लागेन । अन्ततः किशोरले भाडामा लिएको घरबेटीले युवतीबारे जानकारी दिए ।

लगत्तै बहिनीले धुलिखेलमा र दिदीले बानेश्वर प्रहरी चौकीमा उजुरी दिए । किशोेर पक्राउ परेलगत्तै उनले छाडेका दुई श्रीमती प्रहरीको सम्पर्कमा आएका छन् भने अरु पीडितहरू ओइरिँदै छन् ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टी रसुवाको अध्यक्षसमेत बने किशोर गोले तामाङ । बहुविवाह गरेको जानकारी पाएपछि जेठीले उजुरी हालेसँगै पार्टीले कारबाही ग¥यो । उनले हिन्दूवाद र बाहुनवादलाई जरैदेखि उखेलेर फ्याँक्ने उद्घोषसहित रसुवा जिल्लामा ८३ प्रतिशत मंगोल रहेको अन्तर्वार्ता दिँँदै आएका थिए । त्यही बीचमा विभिन्न अनलाइन युट्युब च्यानल सञ्चालन गरे ।

बौद्ध परिसरमा सिन्धुपाल्चोकका समीक्षा लामाको ९ लाख रुपैयाँँ चप्काए । नक्कली गहना देखाएर ३ लाख २३ हजार ठगे । अन्य एक व्यक्तिको १२ लाख ५० रुपैयाँँ डुबाए । उनीविरुद्ध चितवन र टेकुमा ठगीसम्बन्धी मुद्दा दर्ता छ । बौद्ध परिसरमा चेक बाउन्सको उजुरी छ ।

उनै किशोरले चलचित्र विकास बोर्डबाट सेवा फिल्म्स् प्रालिको नाममा ०७६ साउन १७ गते गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा कार्यालय रहने गरी २० मिनेटको नेपाली लघु चलचित्र ‘आज भोलि’ निर्माण गर्ने अनुमति लिएका छन् । कथा रचना र निर्देशन सूर्यबहादुर जिम्वाको नाममा छ ।

प्रहरीका उच्चपदस्थ व्यक्ति, राजनीतिक दलका नेता तथा समाजका अगुवासँग बसी तस्बिर खिचाएको र त्यही आडमा ठगी गर्दै आएको खुलासा भएको छ । पाँचखालमा दिदी–बहिनीलाई नै जबर्जस्ती करणी गरेका किशोरले गाउँकै एक युवतीलाई विवाह गर्ने झुटो आश्वासन दिँदै अलपत्र पारेको अर्को उजुरी छ ।

किशोरले ठगीकै क्रममा केही टेलिफिल्ममा अभिनय गरेका छन् । त्यही समयमा अन्य युवतीसँग पनि अवैध र अनैतिक सम्बन्ध राखेको अनुसन्धानबाट खुलेको छ । उनको मोबाइलमा फेला परेका भिडियो र तस्बिरले अपराधको श्रृंखला देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्