प्रदेश ५ मा विप्लवबारे छलफल, गण्डकी प्रदेशमा विस्फोट



रुपन्देही : मंसीर १४ गते सम्पन्न हुन गइररहेको उपनिर्वाचनलाई मध्यनजर गरी सुरक्षा व्यवस्थाका लागि प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र उच्च तहका सुरक्षा निकायका प्रमुखसहितको सुरक्षा गोष्ठीमा विप्लव समूहबारे छलफल भएपनि गण्डकी प्रदेशमा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्ने बेलामा विस्फोट गराइएको छ ।

उपनिर्वाचनसम्बन्धी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र उच्च तहका सुरक्षा निकायका प्रमुखसहितको सुरक्षा गोष्ठी आज (बिहीबार) बुटवलमा सम्पन्न गरेको छ ।

उक्त सुरक्षा गोष्ठीमा नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको प्रतिवन्धित नेकपाबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मूल एजेण्डाका रुपमा छलफल गरिएको बताइएको छ ।

प्रदेश नं. ५ प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र भएकाले पनि आसन्न उपनिर्वाचनमा विप्लव समूहको सुरक्षा चुनौती हुन सक्ने समान धारणा सुरक्षा गोष्ठीमा सहभागी अधिकारीको रहेको छ । यसैका आधारमा गोष्ठीमा सुरक्षा रणनीति तय गरिएको पनि बताइएको छ ।

चुनावको अघिल्लो दिनसम्म भए पनि विप्लव समूहको गतिविधि निस्तेज पार्ने र चुनाव भयरहित वातावरणमा सम्पन्न गरिछाड्ने गोष्ठीमा सहभागीहरुको रहेको बताइएको छ । उक्त गोष्ठीमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहले शान्तिपूर्ण व्यवस्था उल्ट्याउन चाहेकाले त्यसकोे सामना गर्ने सोच, तरिका र कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्न सुरक्षा निकायलाई निर्देशन दिएकाले प्रदेश नंं. ५ को सुरक्षा व्यवस्थालाई निकै चुनौतीपूर्ण रुपमा लिएको ठानिएको छ ।

गोष्ठीमा सिमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि पनि यो निर्वाचनका अवसरमा बढ्नसक्ने र सुरक्षा चुनौतीका रुपमा देखा पर्नसक्ने स्थितिलाई पनि प्राथमिकताका साथ छलफल गरिएको बताइएको छ । १२ वटै जिल्लाका सुरक्षा अधिकारीहरुले पनि उपनिर्वाचनमा मुख्य खतरा विप्लव समूहबाटै भएको र अन्य चुनौती सामान्य रहेको रिपोर्टिङ गरेको बताइएको छ ।

कपिलवस्तु, दाङ, रोल्पा र रुकुमको भौगोलिक इलाकालाई विप्लव समूहको गतिविधिको केन्द्रको रुपमा व्याख्या गर्दै त्यस इलाकामा सुरक्षा मजबुत बनाउने रणनीति तय गरिएको स्रोतले बताएको छ । गोष्ठीले विप्लव समूहका गतिविधिलगायत शान्ति सुरक्षामा खलल पुर्याउने जस्तोसुकै कार्यलाई पनि रोक्ने गरी सोचिएको भन्दै चुनाव बहिस्कारमा लागेका वैद्य माओवादीलाई पनि सुरक्षा खतराका रुपमा इंगित गरिएको छ ।

‘विप्लव समूहसहित अन्य आपराधिक गतिविधिको डटेर सामना गर्ने गरी’ सुरक्षा रणनीति मजबुद बनाउन लागेको सुरक्षा निकायको दाबी रहेको छ । विप्लव नेकपाका उच्चस्तरीय नेता तथा कार्यकर्ता दाङबाटै गिरफ्तार हुनुले प्रदेश नं. ५ सुरक्षा निकायको पहिलो चुनौतीका रुपमा देखा परेको धेरैको अनुुमान छ । तर योसँगै सुरक्षा निकायको दावा के पनि रहेको छ भने केही नेता तथा कार्यकर्ताहरुले विप्लव समूह परित्याग गर्दै गइरहेका र सुरक्षाकर्मीले पनि एकपछि अर्को सफलता हासिल गर्दै गइरहेकाले विप्लव समूहको चुनौती मत्थर हुँदै गएको छ ।

यही कुरालाई बढी जोड दिँदै प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पत्रकार भेटघाटका क्रममा ‘परिवर्तन विरोधी गतिविधि भएमा यसको सामना सजिलैसँग गरिने’ दावा गरेका थिए । उनका अनुसार शुरुको चरणमा देखा परेको चन्दा आतंक हाल निस्तेज पारिए झै मंसिर १४ गते प्रदेशका नौ स्थानमा हुन गइरहेका उपनिर्वाचनमा आइपर्ने चुनौतीको नेस्तनाबुद गरिने छ ।

मन्त्री केसीले ‘चार घेराको शान्ति सुरक्षाको व्यवस्था गरेको’ भन्दै प्रदेश र संघका बीचमा समन्वय र सहकार्यलाई बढावा दिने कुरा पनि बताए । संघ र प्रादेशिक सुरक्षा निकायबीच सहकार्यमा मात्र जोड दिने मन्त्री केसीलाई गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला र प्रदेशको समन्वय र सहकार्यमा पनि उत्तिकै जिम्मेवार हुन अनुरोध गरेका थिए ।

कात्तिक १८ र १९ गते सम्पन्न उक्त दुई दिने सुरक्षा गोष्ठीमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र उच्च स्तरीय सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान निर्देशक र पृतनापति सहभागी रहेको सुरक्षा गोष्ठी सकेर बाहिरिँदै गर्दा बजारमा विप्लव समूहको पर्चा छ्यापछ्याप्ती वितरण गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्