तिलाठी कोईलाडी गाउँपालिकामा २५ जनाको वकपत्र



सप्तरी : तिलाठी कोईलाडी गाउँपालिकामा देखिएको विवादले उग्ररुप लिँदा एक आपसमा हिलो छ्यापाछ्यापको स्थिति सृजना भएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा गाउँमा विकास निर्माणका कार्यमा समेत अवरोध सृजना हुन पुगेको स्थानीयहरुको गुनासो छ ।

यसैबीच उपाध्यक्ष सुचिता कुमारी यादव र वडा अध्यक्ष दिनेश्वर मिश्र लगायतका जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह माथि विभिन्न लाञ्छना लगाएपछि गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १३ जना वडा सदस्यहरु गरी जम्मा २५ जना जनप्रतिनिधिहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै गाउँपालिकाका अध्यक्षका बचाउ गरेका छन् ।

उनीहरुले गाउँपालिकाका उपाध्यक्ष यादव लगायतका केही व्यक्तिहरुले गाउँपालिका अध्यक्ष सिंहमाथि झुठा, कपोकल्पित, लाञ्छना लगाएकोमा आक्रोश व्यक्त गर्दै त्यसको खण्डन समेत गरेका छन् ।

उनीहरुले गाउँपालिका अध्यक्षले गाउँको विकासको निम्ति महत्वपूर्ण भूमिका खेलिरहेको जनाउँदै विकास निर्माण कार्यको स्थलगत निरीक्षण गरी सत्यतथ्य सार्वजनिक गरिदिन पनि सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्