आइजीपी भन्छन्– ‘म गाडीको सौखिन होइन, आवश्यकताले किनेको हो’



काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यकताअनुसार नै बुलेटप्रुफ गाडी किनेको बताएका छन् । प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ गाडी आफ्नो सोख नभई आवश्यकता भएको प्रस्टीकरण दिए । 

म गाडीको सौखिन होइन, आवश्यकताले किनेको हो 

गाडीको कुरा आज मिडियामा आएको छ । १२ वर्ष पुरानो गाडी रहेछ । एक ठाउँमा ठोक्किएर आएपछि प्रदेश ५ को एउटा गाडी झिकाएर चढ्दै आएको थिएँ । कतै जाँदा खेरि पाँच–सातजना स्टाफसहित जानुपर्ने हुन्छ । त्यसका लागि हामीले गाडी किनेका हौँ ।

त्यो मेरा लागि पनि होइन, संगठनको लागि किनेको हो । अर्काे वर्ष अर्काे व्यक्तिले चढ्ने हो । आवश्यकताको आधारमा गृह मन्त्रालयबाट समेत स्वीकृत भएर खरिद गरिएको हो । म गाडीमा सोख गर्ने व्यक्ति होइन । संगठनलाई चाहिन्छ भनेर किनिएको हो । 

अहिले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी महानिरीक्षककै सचिवालयबाट सञ्चालन भएकाले त्यहाँ धेरै प्रहरी छन् । उनीहरूले ती गाडी प्रयोग गर्ने भएकाले पनि धेरैजस्तो लागेको हुन सक्छ । 

शौचालयलाई हामीले प्राथमिकतामै राखेका छौँ

आइजिपीले नयाँ गाडी किन्यो, तर प्रहरीलाई शौचालय छैन भन्ने समाचार आयो । शौचालय आधारभूत कुरा हो, यसमा हामी लागिरहेका छौँ । आठ सय ५० स्थायी र तीन सय १९ अस्थायी गरी एक हजार एक सय ६९ प्रहरी इकाइसँग शौेचालय नभएकाले यो वर्ष चार सय ५० वटा बन्दै छन् । यसलाई पनि हामीले प्राथमिकतामै राखेका छौँ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्