समायोजन अध्यादेशमा सुधार, समायोजनपछि बढुवा भएर संघमा आउन सक्ने



काठमाडौं : सरकारले अध्यादेश सुधार गर्दै प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारी पनि नियमित बढुवाबाट संघीय निजामती सेवामा फर्कन सक्ने व्यवस्था गर्न लागेको छ ।

कर्मचारीको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले समायोजन हुने कर्मचारी बढुवा भएर संघमा आउन सक्ने प्रावधान राख्ने भएको हो । तर, प्रदेश र तहका कर्मचारी सरुवा भएर भने संघमा आउन पाउनेछैनन् । 

अहिलेकै कानुनअनुसार समायोजन भएका कर्मचारी पनि संघमा बढुवा भएर आउन सक्नेछन् । मन्त्रालय स्रोतले भन्यो, ‘अर्को कानुन नबन्दासम्म अहिलेकै कानुनअनुसार वृत्तिविकास हुन्छ । नयाँ कानुनमा पनि वृत्तिविकासमा असर नपर्ने व्यवस्था गरिनेछ ।’ कर्मचारी बढुवा भएर संघमा आएपछि रिक्त हुने पदमा सम्बन्धित सरकारले नै अर्को कर्मचारी भर्ना गर्न सक्नेछ । 

बुधबार सूचना निकाल्दै 

मन्त्रालयले बुधबार समायोजनको सूचना प्रकाशन गर्ने तयारी गरेको छ । सरकारले २१ दिनभित्र अध्यादेश ऐनअनुसार संघ, प्रदेश र स्थानीय तह रोज्न कर्मचारीलाई आह्वान गर्दै छ । सूचनाको मस्यौदासमेत तयार गरिसकेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै मंगलबार मन्त्रालयले समायोजनको सूचनाको मस्यौदा स्वीकृत गर्नेछ । यसैअनुसार बुधबार सूचना प्रकाशित गर्ने तयारी गरेको हो । 

समायोजनपश्चात् वृत्तिविकासमा असर नपर्ने विषय सूचनामै सम्बोधन हुने मन्त्रालयको दाबी छ । ‘बुधबार प्रकाशित हुने सूचनामा समायोजनपछि पनि बढुवा भएर संघमा आउन सक्ने भन्ने भाषा प्रयोग गर्ने तयारी छ,’ एक कर्मचारीले भने,  ‘प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालयले त्यस्तो तयारी गरेको हो ।’

संघीय निजामती सेवा ऐन पनि चाँडै 

कर्मचारी समायोजन प्रक्रियासँगै संघीय निजामती सेवा ऐनका लागि पनि प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिमा छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले एक साताभित्र ऐनको मस्यौदामा सहमतिका लागि मन्त्रिपरिषद्ले लोकसेवा आयोग पठाउने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्