७८ हजार रुपैयाँ बैंकमा राख्दा ७८ हजार डलर



काठमाडौं : बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वजनिक भएको छ । राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसँग ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको हो । 

बैंक ठगीको आरोपमा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेको छ ।  एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सीधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर ठगी गरेको खुलेको छ । 

गत वर्ष श्रेष्ठले वाणिज्य बैंकको न्युरोड शाखामा खाता खोलेका थिए । सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरे । 

त्यसरी पैसा ट्रान्सफर गर्दा अचम्मै भयो, रुपैयाँमा जम्मा गर्दा सीधै डलरमा देखियो । बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस)ले राम्रोसँग काम नगर्दा यस्तो भएको थियो । तर, बैंकले यसबारे चालै पाएन । 

जापानमा खर्च गरेपछि खुल्यो ठगी 

गत वर्ष मार्चमा उनी जापान गएका थिए । त्यहाँ उनले सोही खाताबाट कार्डमार्फत २ हजार डलर खर्च गरे । डलर खर्च भएपछि बैंकले बल्ल थाहा पायो । नेपालमा रुपैयाँमै निकालिएकाले बैंकले पत्तो पाएको थिएन । 

तर, जापानमा डलरमा पैसा निकालेपछि बैंकले ठगी भएको बुझिहाल्यो । बैंकको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गर्‍यो । पक्राउ परेका श्रेष्ठले बैंकको कमजोरीको फाइदा उठाएको बताएका छन् । नेपाल आउने जापानीहरूको ट्रान्सलेटरका रूपमा काम गर्दथे । 

सोही सम्बन्धका आधारमा उनी पटक–पटक जापान पनि गए । पछिल्लो समय आफू आर्थिक समस्यामा परेकाले गलत काम गर्नुपरेको उनले बताएका छन् । उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । आजको नयाँ दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्