‘अँध्यारो उज्यालो’ मा विजयकुमार भर्सेज रवि लामिछाने



पोखरा: पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल–२०१८ मा व्यग्र प्रतीक्षाको बहस दर्शक–श्रोतामा पहिलेदेखि नै थियो । सो प्रतीक्षाको घडी फेस्टिबलको तेस्रो दिन सोमबार पहिलो सेसनमै पूरा भयो ।

 

टेलिभिजन अन्तर्वार्तामा फरक दुई पुस्ताका ‘आइकन’ हुन्–विजयकुमार पाण्डे र रवि लामिछाने । अघिल्लो पुस्ताका विजयकुमारले पञ्चायतकालीनदेखि आमदर्शक श्रोताको लागि टेलिभिजन अन्तर्वार्ता गरेर ‘दिशानिर्देश’ दिने काम गरे । लामो समय टेलिभिजन अन्तर्वार्तामै गिनिज बुक अफ दी रेकर्डधारी रवि ‘सिधाकुरा जनतासँग’ गरेर आममानिसको मन जितेका छन् ।

 

‘अँध्यारो उज्यालो’ शीर्षकको सो सेसनमा कसले–कसलाई प्रश्न गर्ला भन्ने जिज्ञासा सबैको थियो । त्यसमा हावी भए रवि । रविको सिधा—सिधा प्रश्नमा विजयकुमारले समय माग्दै कतिपय सिधा, आध्यात्मिक र दार्शनिक उत्तर फर्काए । उनले बहसको क्रममा भने, रविजी तपाई उदाउँसो सूर्य हो, म अस्ताउँदो सूर्य । तर दुबैको रंग रातो हुन्छ ।’

 

कार्यक्रममा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन जगत्बारे छलफल गरे । राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे । पत्रकार विजयकुमारले राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको बताए । जीवनका अँध्यारा–उज्याला पक्षको विवेचना मात्र गरेनन्, उनीहरुले मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे । श्रय–दृश्य दुवै माध्यममा इन्टरनेटमार्फत सहज पहुँच भएकोले प्रस्तुत गरिने रिपोर्ट पनि त्यस्तै खदिलो बनाउनुपर्ने दुवैको जोड थियो । एक घण्टाको सो सेसनमा दर्शकले विभिन्न विषयमा जिज्ञासासमेत राखेका थिए ।

 

‘अँध्यारो उज्यालो’ शीर्षकको सो सेसनमा कसले–कसलाई प्रश्न गर्ला भन्ने जिज्ञासा सबैको थियो । त्यसमा हावी भए रवि । रविको सिधा—सिधा प्रश्नमा विजयकुमारले समय माग्दै कतिपय सिधा, आध्यात्मिक र दार्शनिक उत्तर फर्काए । उनले बहसको क्रममा भने, रविजी तपाई उदाउँसो सूर्य हो, म अस्ताउँदो सूर्य । तर दुबैको रंग रातो हुन्छ ।’

 

पोखरामा जारी छ— आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ । आज सोमबार फेस्टिभलको तेस्रो दिन । बुकवर्म फाउन्डेसन र -यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भए । आइएमईले मुख्य प्र्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकारसँगै सर्वसाधारण आउने क्रम तीव्र छ ।

 

फेस्टिभलमा सहभागीहरुले आफ्ना प्रिय लेखकका पुस्तक किनेर उनीहरुसँग अटोग्राफ लिने क्रम पनि उत्तिकै छ । लेखक र पाठकको सम्मिलन पनि चलिरहेको छ । फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ । यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे ।

 

यसैगरी, ‘संस्मरण विस्मरण’ सेसनमा पत्रकार युवराज घिमिरे, लेखक ब्रजेश र समीक्षक अर्चना थापाले अन्तरसंवाद गरे । दीपक सापकोटाले उनीहरुको संस्मरण–विस्मरणबारे खोतल्ने प्रयास गरे । पत्रकार घिमिरेले आममानिसबाट लेखिएको बायोग्राफीबाट सबै हिरो बन्ने प्रयास गरेको हुँदा यतिधेरै हिरो हुँदासमेत देश भने किन नबनेको होला भन्ने आममानिसको भनाइ रहेको बताए ।

 

‘प्रजातन्त्र र पुस्तक’ सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन् । पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो । ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए भने ‘प्रतिरोध’ शीर्षकको संवादमा पत्रकार बसन्त बस्नेतले पोखराका कार्टुनिष्ट वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद चलाए । कला, साहित्यका माध्यमबाट मानिसले सरकारलाई विकासका लागि झकझक्याइरहेको उनीहरुको भनाइ थियो ।

 

यस्तै, प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग ‘द राइटिङ जर्नी’ शीर्षकमा अन्तरसंवाद गरिन् । ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन् । उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए । ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुविन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग पोखराकी सरिता पुरीले संवाद चलाइन् ।

 

पत्रकार दिलभूषण पाठकले ‘फूलको आँखा’ सेसमा गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे । उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे । अर्चना थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्ट्याएका राजधानीमा खवर छ ।फेस्टिभल अवसरमा १५ जना मुक्तककारले प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा मुक्तक बाचन गरे भने दीप श्रेष्ठ र बसन्त थापाले रमाइलो पारामा बितेका कुरा शीर्षकमा विगत सम्झे ।

 

फेस्टिबलको चौथो तथा अन्तिम दिन मंगलबार संघीय नेपालमा आञ्चलिक स्वर, अबको नेतृत्वः कस्को, कसको ?, गणतन्त्रपछिको नेपाली समाज, साहित्यमा सेन्सरसीप, दन्त्यकथा, म किन राष्ट्रवादी होइन ? लगायत शीर्षकमा विभिन्न क्षेत्रका व्यक्तिबीच छलफल हुने आयोजक बुक वर्म फाउण्डेसन अध्यक्ष अजित बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्