नेपालको ५०० मिटर भूभाग मिचेर भारतले बनायो सडक



मोरङ : जहदा गाउँपालिका १, कालाबञ्जारस्थित दशगजामा भारतले सडक निर्माण  थालेको छ । भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा एक किलोमिटर सडक बनाइएको छ । 

विधायक मनचन केशरीको ‘विधायक फण्ड’ बाट सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए । दशगजामा रहेको १७४ २ नम्बरको चारपाटे पिलरभन्दा ५००  मिटर वरसम्म एक्साभेटरले खनेको छ । 

दशगजामा सडक निर्माण भइरहेको जानकारी पाएपछि जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीपचन्द्र यादवसहितको टोली पुगेर निर्माण रोकेको छ । ‘दशगजामा सडक निर्माण भइरहेको जानकारी आएपछि सशस्त्र प्रहरी बेस बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर रोक्न लगाएका छौँ’ , उनले भने । 

भारतीय पक्षले जबरजस्ती सडक निर्माण गरेको उनले बताए । ‘सडक निर्माण भएपछि लोहन्द्रा र जुडीखोलाको पानी बर्खामा गुनिएर जहदाको वडा १ पूरै जलमग्न हुन्छ’, उनले भने, ‘विराटनगर महानगरपालिकाको वडा १७ पनि जलमग्न हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्