सेना फिर्तासम्बन्धि विवादास्पद आदेशमा हस्ताक्षर



अमेरिका: सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै सो आदेशमा हस्ताक्षर भएको हो ।

 

गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुकहरु र अमेरिकी राजनीतिक नेतालाई नै अचम्भित बनाएको थियो ।

 

सिरियामा संघर्षरत इस्लामिक स्टेट (आइएस) का लडाकू विरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब दुई हजार अमेरिकी सेना सिरियामा तैनाथ छ । अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।

 

टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ । यद्यपि यहाँ विचारणीय पक्ष के छ भने आइएस विरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकूमाथि कारबाही गर्न टर्कीलाई छुट प्राप्त हुनेछ । कुर्दिस लडाकूलाई अमेरिकले मित्रशक्ति माने पनि टर्कीले आतंककारीको रुपमा लिने गर्दछ ।

 

टर्कीको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा पनि दुबै मुलुकले सैनिक, कुटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यकरुपमा कार्य गर्न सहमति भएको उल्लेख छ ।

 

सो वक्तव्य आउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्वीट गरी दुबै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यका बारेमा रचनात्मक छलफल भएको बताएका थिए ।

 

कुर्दिस मामिलासम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिस लडाकूमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै यसबाट पुनः रक्तपातपूर्ण युद्ध शुरु हुनसक्ने चेतावनी दिए ।

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ट्रम्पको निर्णयबाट आफू दुःखी भएको बताएका छन् । ट्रम्पको सेना फिर्तीको निर्णयबाट असन्तुष्ट बनेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्