कलङ्की डिजिटल मालपोत : कमी देखियो प्रविधिको प्रयोग



काठमाडौँ : कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गर्नुभएको थियो । कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।

एकद्वार सेवाले सजिलो
डिजिटलाइज्ड मालपोतको अवधारणा आएसँगै सेवाग्राहीले एउटै ठाउँबाट सम्पूर्ण सेवा लिन सक्ने भएका छन् । कलङ्की मालपोत कार्यालयको भौतिक संरचनाको डिजाइन पृथक् देख्न सकिन्छ । भौगोलिक क्षेत्रअनुसार फाँटहरूको व्यवस्था गरिएको छ ।
“त्यसैभित्र सम्पूर्ण प्रणाली व्यवस्थित गरिएको छ । एक ठाउँबाट प्रवेश भएको फाइलको सम्पूर्ण काम त्यही ठाउँमा पूरा हुन्छ,” अधिकृत कमल कार्कीले भन्नुभयो । नमुना मालपोतको अवधारणा आएपछि ल्याइएको एकद्वार सेवालाई सेवाग्राहीले पनि मन पराएका छन् ।
“पहिलेजस्तो सानो रुजुका लागि अर्काेअर्काे कोठा र कर्मचारी खोज्दै हिँड्नुपर्दैन,” एक आफन्तको जग्गाको काम लिएर मालपोत कार्यालय आउनुभएका कमल सुवेदीले भन्नुभयो ।
एउटै फाँटबाट सम्पूर्ण सेवा पाउने भएपछि तुलनात्मक रूपमा कम समयमा काम हुने गरेको सेवाग्राहीको प्रतिक्रिया थियो । सचेत सेवाग्राहीले भने एक्लै आएर सेवा लिन पनि कुनै समस्या नहुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारी टोलप्रसाद लामिछानेको अनुभव छ ।
सेवाग्राही आफैँ सचेत हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी नागरिक बडापत्र पढेर सेवाबारे जानकारी लिएर आउँछौँ । त्योअनुसार नभए सम्बन्धित निकायमा गुनासो गरिहाल्छौँ । त्यसो भएमा बिचौलियाबाट काम लिनुपर्ने वा ढिलासुस्ती हुने सम्भावना कम हुन्छ ।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्