जेल–जेलमा समानान्तर सत्ता, किन निरिह छन् गृहमन्त्री ?



काठमाडौं : १० वर्षे जनयुद्धकालमा ‘समानान्तर सत्ता’ सञ्चालनको घोषणा गरेका वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेपनि समानान्तर सत्ता चलिरहेको भनेपछि हलचल मच्चिएको छ । अहिले दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकारलाई पनि चुनौती दिँदै मुलुकको गृहमन्त्रीले भनेजस्तै के साच्चिकै दुई तिहाइको सत्ता विरुद्ध समानान्तर सत्ता सञ्चालन भइरहेको छ त ? भन्ने प्रश्न पनि उठेको छ । के भूमिगत रुपमा गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले समानान्तर सत्ता चलाइरहेको छ त ? कुरा त्यसो पनि होइन, गृहमन्त्रालयकै माताहत रहेको कारागारहरुमा समानान्तर सत्ता चलिरहेको स्वयम गृहमन्त्रीले स्वीकार गरेका छन् । यसले धेरै अर्थ र महत्व राख्दछ । के कारागारमा समानान्तर सत्ता छ त ? छ भने सरकार र यसको तालुकदार मन्त्रालय तथा त्यसको जिम्मेवारी लिएका गृहमन्त्री निरिह बनेका छन् ? भन्ने प्रश्न पनि उब्जेको छ ।

गृहमन्त्रालयको मातहतमा रहेको हिरासत तथा जेलमा समानान्तर सत्ता चलिरहेको भनी गृहमन्त्री थापाले स्वीकार गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दैगर्दा मन्त्री थापाले गृह अन्तर्गतको जेलमा भिन्न समानान्तर सत्ता चलिरहेको बताएका हुन् ।

गृहमन्त्री भएलगत्तै जेलहरुको भ्रमण गरी सुधारका कामहरु छिट्टै गरिने भनी वचनवद्धता जाहेर गरेका थापाले आजका मितिसम्म आफूले गरेका प्रगतिका कामहरु भने बताउन सकेनन् । तर जेल तथा हिरासतको पछिल्लोचरणको अनुगमनपछि उनले जेल तथा हिरासतमा भिन्न सत्ता चलिरहेको कुरा स्वीकार गर्न भने हिच्किचाएनन् ।

जेल तथा हिरासतको स्थलगत अनुगमनपछि छलफलका लागि बोलाइएको समितिको बैठकमा उपस्थित सांसदहरु पम्फा भुसाल र डिला संग्रौलाले हिरासत तथा जेलको घेराभित्र नियन्त्रणमा लिइएका थुनुवा तथा बन्दीहरुमाथि क्रुर यातना दिने प्रक्रिया कायमै छ रे नि भनी प्रश्न सोधेपछि मन्त्री थापाले त्यहाँ ‘भिन्न शासन’ चलिरहेको कुरा स्वीकार गरेका थिए ।

हिरासतमा कानुनी भन्दा पनि पुलिस राज चल्ने र जेलमा भने बन्दीहरुका बीचबाट छानेर गुण्डाहरुलाई आन्तरिक प्रशासनले परिचालन गर्ने गरिरहेको अवस्था यद्यपि कायम छ । पुलिसहरु हिरासतमा लिइएका माथि मानवीयभन्दा पनि पुलिस राजको अनुभूति गराउन र डण्डामार्फत आफ्नो श्रेष्ठता कायम गर्न उद्धत रहेका देखिन्छन् । गृहमन्त्री थापा यसैलाई ‘समानान्तर सत्ता’का रुपमा देख्न पुग्छन् ।

अर्कोतिर जेलमा राखिएका कैदीबन्दीमाथि जेल प्रशासनले छुट्टै अर्को गुण्डा प्रशासन खडा गरेर आमबन्दीमाथि राज गर्न लगाइरहेको हुन्छ । यिनीहरुलाई नाइके र भाइनाइके भनी दज्र्यानी प्रदान गरेको हुन्छ जेल प्रशासनले । नाइके र भाइनाइकेको दबदबामा अन्य बन्दीहरुले सास्ती बेहोरिरहेका हुन्छन् ।

जेल प्रशासन के हो, को छन् ? तिनको काम कर्तव्य के हो ? कुनै पनि बन्दीलाई थाह हुँदैन । यिनै गुण्डा नाइकेहरुको अमानवीय राज नै जेल प्रशासन हो भन्ने आमबन्दीको बुझाइ हुन्छ । जेलर र सहायक जेलर राजा र युवराजको ठाँटमा जीवन बिताइरहेका हुन्छन् । तिनीहरुको दर्शन कैदीबन्दीले कहिल्यै पाउँदैनन् ।

अहिले पनि गृहप्रशासनको कुनै पनि ऐन तथा नियमावलीमा जेलरले मनोमानी र स्वेच्छाले नाइकेहरु बनाएर यस्तो गुण्डाराज चलाउने कुराको छूट कहीं र कतै पनि दिएको छैन । तर गृहमन्त्रालय यस विषयमा ‘बबुरो’ हुँदै आएको छ । गृहमन्त्री हुँदा गृहसुधारका कामहरुमा मन्त्री थापाले जेल तथा हिरासत सुधारका लागि धेरै बुँदाहरु समावेश गरेका थिए । ती सबै लिखतमा मात्र सिमित हुन गएका छन् ।

प्रतिक्रिया दिनुहोस्