सरकारी जग्गा कब्जा गरी बजार



वीरगन्ज : वीरगन्जको घण्टाघर चोक छेउको १० बिघा जग्गामा महानगरपालिकाले एक सय २५ करोड रुपैयाँमा सुविधा सम्पन्न पार्क र अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ। तर, महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा व्यापारीले विगत आठ वर्षदेखि कब्जा गरी तरकारीको थोक बजार सञ्चालन गर्दै आएका छन्।

 

२०६७ सालदेखि सञ्चालनमा ल्याइएका तरकारी थोक बजारमा व्यापारीका करिब दुई सय अस्थायी टहरा र झुप्रा छन्। त्यसबाहेक त्यहाँ करिब एक दर्जनको संख्यामा खाना नास्ताका स–साना होटल र घरेलु रक्सी बेच्ने भट्टी पनि छन्। थोक तरकारी बजारका पसल र त्यहाँका होटलबाट दिनहुँ निस्कने फोहोरमैला व्यवस्थापन नहुँदा ती फोहोरजन्य वस्तु कुहिएर महिनौसम्म रहन्छन्। कुहिएका ती फोहोरबाट निस्कने दुर्गन्धले बजार छेउ भएर हिड्ने यात्रुलाई नाक थुन्नु पर्छ।

 

सहरकै केन्द्रमा रहेको अव्यवस्थित एवं दुर्गन्धित थोक तरकारी बजार , त्यहा जथाभावी तरिकाले बनाइएका झुप्रा र टहरा तथा दुर्गन्धले वीरगन्ज महानगरको सौन्दर्यलाई नै कुरुप बनाएको छ। वीरगन्जको मिना बजारमा रहेको मुख्य खुद्रा तरकारी बजार, व्यवस्थित बनाउन सुविधा सम्पन्न तरकारी बजारको व्यापारिक भवन बनाउने क्रममा तत्कालीन उपमहानगरपालिकाले २०६७ सालको पुसमा घण्टाघर छेउको जग्गामा सारेको थियो।

 

त्यसबेला तत्कालीन उपमहानगरपालिकाले खुद्रा तरकारी बजारलाई मात्र घण्टाघर छेउको जग्गामा सारेको थियो। तर, त्यही बहानामा थोक व्यापारीले पनि नगरपालिकाको अनुमति बेगर नै उक्त जग्गामा कब्जा गरेर टहरा र झुप्रा बनाएर थोक बजार सञ्चालनमा ल्याएका हुन्।

 

२०७३ साल फागुनमा तत्कालीन उपमहानगरपालिकाले मिना बजारमा नवनिर्मित सुविधा सम्पन्न व्यापारिक भवनमा खुद्रा तरकारी व्यापारीलाई स्थानान्तरण ग¥यो तर थोक बजारका व्यापारीले भने अहिले पनि पार्क बनाउने भनिएको जग्गामा नै कब्जा गरेर व्यापारव्यवसाय गर्दै आएका छन्। थोक तरकारी बजारका लागि महानगरपालिकाले नगरको अन्य स्थानमा जग्गा उलब्ध गराइ दिने र थोक बजार अहिलेको स्थानबाट सार्न पटकपटक आग्रह गर्दा पनि थोक बजारका व्यापारीले अटेर गर्दै आएका छन्।

 

महानगरपालिकाले वीरगन्जको छपकैयामा रहेको श्रीराम चलचित्र भवन पछाडि रहेको दुइ बिघा १० कठ्ठा क्षेत्रफलको सार्वजनिक जग्गामा तरकारीको थोक बजार सार्न व्यापारीसँग प्रस्ताव गरिसकेको छ। तर व्यापारी अहिलेको थोक बजार रहेको स्थान सहरको केन्द्रमा रहेकाले महानगरपालिकाले प्रस्ताव गरेको स्थानमा तरकारी बजार सार्न मानिरहेका छैनन्। तर, वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका निवर्तमान अध्यक्ष विदुरप्रसाद गुप्ताले भने महानगरले उचित विकल्प नदिएकाले नै बजार सार्न व्यापारीले नमानेको बताए।

 

अहिले महानगरले विकल्पमा दिने भनेको छपकैयाको जग्गा पनि पायक नरहेको उनले बताए। ‘नगरपालिकाले छपकैयमा श्रीराम सिनेमा हल पछाडि अढाइ बिघा जग्गा छ त्यही बजार सार्नुस् भनेर भन्छ मात्र’, उनले भने,‘एक त छपकैयामा भनेको जग्गा व्यपारीका लागि पायक छैन, अर्को कुरा त्यही जग्गा दिने हो भने पनि अहिलेसम्म उपलब्ध गराइएको छैन, बजारका लागि त्यहाँ भौतिक संरचना पनि बनाइएको छैन। नगरपालिकाले खाली सार्नुस् मात्र भन्छ।

 

महानगरपालिकाले विकल्प दिएको जग्गा उपलब्ध गराइ भौतिक संरचना बनाइ दिएको खण्डमा थोक तरकारी बजार सार्न व्यापारी तयार रहेको गुप्ताले बताए। तर वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भुषालले भने अहिले पार्क बनाउने तयारी गरिएको घण्टाघर छेउको महानगरको जग्गामा व्यापारीले जबरजस्ति कब्जा गरेर अनाधिकृत रूपमा तरकारीको थोक बजार लगाएको बताए। – अन्नपूर्णपाेष्ट दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्