काठमाडौंमा किर्ते धन्दाबाट कमाएको पैसा भारतको क्यासिनोमा खर्च



काठमाडौं : लामो समयदेखि काठमाडौंमा किर्ते धन्दा चलाउँदै आएको एक समूहले कमाएको पैसा भारतका विभिन्न क्यासिनोमा गएर उडाउने गरेको पाइएको छ । स्मार्ट लाइसेन्स र मेसिन रिडेबल पासपोर्ट(एमआरपी)समेत नक्कली बनाउने गिरोहमा संलग्न तीन सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको हो । 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाडौंका विभिन्न स्थानबाट सोमबार किर्ते धन्दामा संलग्न सुनसरी इटहरी–२ का २८ वर्षीया तारादेवी सुवेदी, नक्सालका ३२ वर्षीय दीपक केसी र सल्यान रामपुर–३ का ३६ वर्षीय बलबहादुर राउतलाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार पक्राउमध्ये राउत पटके हुन् । उनी यसअघि २७ चैत ०७४ मा पनि किर्ते धन्दामै पक्राउ परेका थिए । उनले त्यसवेला धन्दाबाट कमाएको सबै पैसा भारतको गोवा र सिक्किमको क्यासिनोमा उडाएको प्रहरीलाई बयानमा भनेका थिए । 

प्रहरीका अनुसार क्यासिनो खेल्ने लतकै कारण उनले किर्ते धन्दा छाड्न नसकेका हुन् । ‘कैद सजाय भुक्तान गरी जेलबाट छुटेलगत्तै उसले पुनः किर्ते धन्दा सुरु गरेको देखिन्छ । सो धन्दाबाट कमाएको सबै पैसा यसपटक पनि भारतका विभिन्न क्यासिनोमा गएर सकेको बयान दिएको छ,’ महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने ।

 नक्कली प्रमाणपत्रको मूल्य  पाँच हजारदेखि पाँच लाखसम्म 

प्रहरीका अनुसार सो गिरोहले बनाएका नक्कली प्रमाणपत्र तथा कागजात पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ । विशेषगरी, स्मार्ट लाइसेन्स, एमआरपी, नागरिकता र भिसालाई महँगो मूल्यमा बेच्ने गरेको खुलेको छ ।

बैंक ग्यारेन्टी स्टेट्मेन्ट, प्रहरीले दिने चारित्रिक प्रमाणपत्र, त्रिविको बिएभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्रलाई उनीहरूले एक लाख ५० हजार रुपैयाँसम्ममा बेच्ने गरेका थिए ।

त्यसबाहेक जन्म, विवाह तथा मृत्युदर्ता प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयको सिफारिसपत्र भने ग्राहकको मनोविज्ञान बुझेर पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्ममा बेच्दै आएको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्