नेपाल प्रहरीका डीआईजीहरुको सरुवा हुँदै, को कहाँ पुग्दै ?



काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका केही डीआईजीहरुको सरुवा गर्ने तयारी शुरु गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीआईजी र अपराध अनुसन्धान विद्यालयका डीआईजीलाई सरुवा गर्ने तयारी गृहले गरेको हो ।

रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, अनुसन्धान ब्युरोका डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एक वर्षे कार्यकाल पूरा भइसकेकोले गृह मन्त्रालयले सरुवाको गृहकार्य अगाडी बढाएको गृहश्रोतले बताएको छ ।

गहमन्त्रालय श्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेलाई पनि सरुवा गर्ने तयारी भएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेकाले प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिको लागि सरुवा सम्बन्धी फाइल पेश गरिसकेको छ ।

गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करिब पाँच महिना मात्रै पुगेको छ । गत जेठ ३१ गते गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका घिमिरे कार्यसम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै त्यहाँबाट फिर्ता गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी थालेको छ । यस्तै सीआईबीका डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्याय मध्ये एकजनालाई पठाउने तयारी रहेको श्रोतको दाबी छ । अहिले खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् भने उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्