सुन्तलाको गुणस्तर छुट्याएर ग्रेडिङ



उदयपुर: उदयपुरमा उत्पादित सुन्तलालाई ग्रेडिङ गरी बिक्री गर्न सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन परियोजनाअन्तर्गत उत्पादित सुन्तललाई ए, बी र सी गरी तीन ग्रेडमा विभाजन गरिएको छ ।

 

सोहीअनुसार ए ग्रेडको सुन्तला प्रतिकिलो ७०, बी ग्रेडको ५० र सी ग्रेडको सुन्तलाको भने खासै मूल्य नभएको ताप्ली गाउँपालिका–१ का अगुवा कृषक उद्धव हमालले बताए ।

 

उनले भने, ‘ग्रेडिङसहित लेबलिङ गर्दा कसैले पनि गुणस्तरमा खोट लाउन सक्दैनन् ।’ सुन्तलाबाटै वार्षिक ५ लाखभन्दा बढी कमाउँदै आएका हमालले ग्रेडिङको प्रचलनले कमाइ अझ बढ्ने बताए । ‘पहिला कोदो र मकै फल्ने पाखोबारीमा अहिले सुन्तलाका बेर्ना हुर्कंदै छन्,’ उनले भने ।

 

सुन्तला खेती गर्दै आएका कृषकलाई सुन्तला जोनले प्राविधिक सहयोग गरिरहेको छ । तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत सुन्तला जोन घोषणा भएपछि किसानलाई प्राविधिक र प्रविधिको सहयोग मिलेका सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष तोपबहादुर ज्युठकुरी बताउँछन् ।

 

‘अहिले सुन्तला खेतीका लागि आवश्यक मेसिनरी सहयोग पनि सरकारी अनुदानमा पाएका छौँ । जसले गर्दा उत्पादनसमेत बढ्दै गएको छ,’ उनले भने । ग्रेडिङ गरिएको सुन्तला खरिद गर्न काठमाडौं, विराटनगर, धरान, पोखरालगायतका व्यापारी गाउँमै आउने किसानहरू बताउँछन् । 

 

सुन्तलाको जोन परियोजना सञ्चालन भएसँगै उदयपुरमा सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र उदयपुरअनुसार जोन सञ्चालन हुनुभन्दा अगाडि उदयपुरमा २ सय ५२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्थ्यो । अहिले ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीका अनुसार यो वर्ष उदयपुरमा ३ हजार ५ सय ६२ मेट्रिकटन सुन्तला उत्पादन भएको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्