रात्रिबसका यात्रुलाई परिचारिकाको सेवा



काठमाडौं : रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो । बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।

अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।

सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गालीमा हुर्केका चालक, सहचालक र साहुको ठालु व्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदै छ । रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन । 

बसका कर्मचारी पढे–लेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए । राम्जालीका पिता वैदेशिक रोजगारीमा बहराइन छन् भने रानाका पिता शिक्षक हुन् ।

राम्जालीको अनुभवमा कलेजका साथीभन्दा रात्रिबसका ड्राइभर, खलाँसीका शब्द सभ्य छन् । त्यही भएर उनलाई काम सुरक्षित र स्वाभाविक लागेको छ । ‘सञ्चालक र स्टाफहरू सभ्य भए व्यवसाय सभ्य बन्छ, सभ्य संस्कृति बने यात्रु आफैम् सम्हालिने रहेछन्,’ उनले भनिन् ।

महिला परिचारिका देखेर महिला यात्रु खुसी हुने गरेको रानाले पनि देखिन् । ‘अन्त काम नपाएर म बसमा बसेकी होइन,’ उनले भनिन्, ‘विचार राम्रो लाग्यो । सबैको व्यवहार पनि राम्रो छ।’

राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले सञ्चालन गरेका सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्