फुटबल अभ्यासमा व्यस्त छावा



 चितवन: चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ । पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो। क्षेत्रीय होटेल संघ नेपाल चितवनको आयोजनामा महोत्सव हुँदै आएको छ । यसपटकको महोत्सवमा हात्तीको वनभोज, फास्ट वाक प्रतियोगिता, छावाहरुको फुटबल, हात्तीपोलो, हात्ती सुन्दरी प्रतियोगिता हुँदैछन् ।

 

फुटबल र पोलो खेल्न हात्तीले अहिले अभ्यास गरिरहेका छन्। सात वर्षको छावा सौराहा गजले यसपालि तेस्रो पटक महोत्सवमा सहभागिता जनाउँदैछ। सौराहा गजले यसअघिको महोत्सवमा फुटबल खेलेर दर्शकको मन जितिसकेको यसका माहुते रामचन्द्र यादव बताउँछन्। ऊ यसअघि दुईपटकको खेलमा बेस्ट प्लेयर बनिसकेको यादवले बताए। आफूले तालिम दिएर तयार गरेको सौराहा गज महोत्सवको आकर्षण बन्दा उनी खुसी छन्।

 

‘बल खेल्न रमाइलो मान्छ’ उनले भने, ‘यो हात्ती जसको टिममा पर्छ त्यसलाई राम्रो हुन्छ।’ यसपटकको महोत्सवमा आठवटा हात्ती फुटबल खेल्दैछन्, जसमा पाँच छावा चितवन निकुञ्जका छन्। एउटा टिममा चार छावा राखिन्छ। यसपटकको महोत्सवमा आठवटा छावाले चार टिम बनेर खेल्नेछन्। एउटा छावाले दुई टिमको प्रतनिधित्व गरेर दुईवटा खेल खेल्ने चितवन राष्ट्रिय निकुञ्जको हात्ती व्यवस्थापन शाखा अधिकृत बुधन चौधरीले बताए।

 

 सात वर्षको छावा सौराहा गजले यसपालि तेस्रो पटक महोत्सवमा सहभागिता जनाउँदैछ। सौराहा गजले यसअघिको महोत्सवमा फुटबल खेलेर दर्शकको मन जितिसकेको नागरिकमा खवर छ ।

 

खेलभन्दा अघि टिमका लागि हात्ती छुट्याईन्छ। टिमले हात्ती रोजेर लिन भने पाउँदैनन्। पाँच वर्षका टेकगज र रिमझिम कलीले यस वर्ष पहिलो पटक फुटबल खेल्दैछन् । फुटबल खेल्ने अभ्यासमा व्यस्त छावाहरुले पनि रमाइलो मानेर खेलिरहेको चौधरी बताउँछन् ।

 

मंसिर २८ गतेबाट छावाले नियमित अभ्यास गरिरहेको उनले जानकारी दिए। दिनहुँ डेढदुई घण्टा अभ्यास भइरहेको उनले बताए। छावालाई तालिम दिएर माहुतेको निर्देशनमा राखिन्छ। तालिम दिएर माहुतेसँग घुलमिल भएपछि खेल खेल्न लगाइने उनले बताए।

 

‘तालिम पाएका र खेल खेलिसकेका छावासँगै नयाँलाई मिसाएर खेलाइन्छ’, उनी भन्छन्, ‘नयाँले पनि पुरानोले खेलेजस्तै खेल्न सिक्छन्।’ नयाँलाई पनि खेलाउँदा खेलको बारे जान्ने र अर्को सालको लागि पनि तयारी हुने चौधरीको भनाइ छ। अभ्यास गर्दै गरेका छावा माहुतेको निर्देशनअनुसार बल हान्ने, बलको नजिक जाने गर्छन्। पोलो खेलका लागि भने यसपटक छुट्टै हात्तीको प्रयोग गरिँदैछ। पोलोमा पनि चारवटा समूह प्रतिस्पर्धा गर्दैछन्।

 

चितवनको पर्यटन र हात्ती एकअर्काका परिपूरक भएको क्षेत्रीय होटेल संघ नेपालका अध्यक्ष एवं १५औं चितवन हात्ती महोत्सवका संयोजक सुमन घिमिरे बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनाअगाबै चितवनमा खुलेका होटेलले हात्ती सफारीलाई चितवनको पर्यटनमा ब्रान्ड बनाइसकेको उनले बताए । हात्तीपोलोलाई पनि विश्वमा चिनाइएको थियो । त्यही चितवनको ब्रान्डलाई नै संघले महोत्सवका रुपमा अघि बढाएको अध्यक्ष घिमिरेको भनाइ छ ।समाज, संरक्षण र समृद्धिका नारासहित महोत्सव गरिँदैछ। महोत्सवमा हात्तीलाई कमभन्दा कम सास्ती होस् भनेर ध्यान दिइएको घिमिरेको दाबी छ । यसअघिका हात्ती महोत्सवमा हात्ती दौड गरिनेमा अहिले फास्ट वाक गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्