प्रधानमन्त्री कार्यालयमा लुँडो खेल, गृहमा पूर्वलडाकु निषेध



काठमाडौं : आइतबार दिउँसो २ः३० बजे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन्। खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो।

कहिले खुसी हुन्थिन्, कहिले दुःखी। उनको कम्प्युटर ‘अन’ थियो। तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन्। कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन्। टाउको मोबाइलतिर झुकाएकी थिइन्।

बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घन्टौं लुँडो खेलिरहिन्।

प्रधानमन्त्री कार्यालयकै प्रशासन शाखाका कर्मचारीलाई सोधियो, ‘सर हुनुहुन्छः कर्मचारीले तलदेखि माथिसम्म प्रश्नकर्ताको हुलिया नियाले। त्यसपछि रुखो स्वरमा जवाफ दिए, ‘को हो तपाईं? ’ उनको प्रश्न सातो लिने खालको थियो।

विनम्र भएर फेरि सोधियो, ‘म विद्यार्थी हुँ। मलाई प्रधानमन्त्रीले गर्नुभएको कामको विवरण चाहिएको थियो।’ उनले फेरि तलदेखि माथिसम्म हेरे। ‘प्रकाशित भएको छैन। प्रकाशित भएपछि अनलाइनमा हेर्नू।’ यति भनेर उनी कुर्सीबाट उठेर बाहिर गए।

‘को हो तपाईं? यो शब्दले खल्लो बनायो। देश चलाउने मुख्य स्थानमा बस्ने कर्मचारीको भाषाले दुखित् बनायो। दोस्रो तलाको अर्को शाखामा सोधियो, ‘सर हुनुहुन्छ? ’ हिटर तापिरहेकी महिला कर्मचारीले पनि तलदेखि माथिसम्म हेरिन्।

आँखा ठूलो पार्दै भनिन्, ‘तपाईं उहाँको को हो? ’ हकार्ने शैलीमा भनिन्। ‘उहाँको म कोही पनि होइन। सामान्य नागरिक हुँ। किन उहाँलाई भेट्न उहाँको कोही हुनुपर्छ र ?’ उत्तर आएपछि उनी एकछिन् चुप लागिन्।

केही बोलिनन्। ‘भेट्न समय लिनुभएको छ? ’ अलिक नम्र भएर सोधिन्। अनि अनकनाउँदै नाम टिप्न थालिन्।

पुस्तकालयमा एक जना पाठक

प्रधानमन्त्री कार्यालयभित्र एउटा पुस्तकालय छ। तर, कोही जाँदैनन्। कार्यकर्ता प्रांगणमा घाम ताप्दै बस्छन्। कर्मचारी हिटरमा आगो ताप्दै बस्छन्। ग्राउन्डफ्लोरमा रहेको पुस्तकालयमा एक जना मात्रै पाठक थिए। उनी पत्रिका पल्टाइरहेका थिए।

ढोकामाथि टाँसिएको छ( पुस्तकालयभित्र कृपया मोबाइलमा कुरा नगरिदिनुहोला। तर, लाइब्रेरीकी कर्मचारी आफैं फोनमा लामो कुरा गरिरहेकी थिइन्। टेबलमाथि पत्रपत्रिका छरिएका थिए। दराजमा थन्क्याएर राखिएका छन् पुस्तकहरू।

ती पुस्तक वर्षौंदेखि कसैले नपढेका जस्ता देखिन्थे। फोनमा बोलिसकेपछि महिला कर्मचारीले भनिन्, ‘यहाँ प्रधानमन्त्री आएर कहिल्यै पढ्नुभएको थाहा छैन। कुनै किताब आवश्यक पर्‍यो भने किनेर लगिदिन्छौं।’

पुस्तकालयको ढोकाबाहिरै दराजमा थन्किएका छन् केही पुस्तक। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा भएको कामका विवरण मोटो पुस्तकमा प्रकाशित छ। उक्त पुस्तक पनि पुस्तकालयबाहिरै छ। विद्यादेवी भण्डारीले गरेका भाषणका अंश अंग्रेजी र नेपाली दुवै भर्सनमा प्रकाशित छन्।

ती किताब पनि दराजमा अटेका छैनन्। भुइँमा असरल्ल छन्। माधवकुमार नेपालको मन्तव्य भाग-३ र झलनाथ खनालका मन्तव्यहरू दराजमा बन्द छन्। राष्ट्रिय मानव अधिकारका सिफारिसहरू कार्यान्वयनको स्थितिदेखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्टसंघीय महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन पनि दराजमा बन्द छ।

कार्यालयभित्र कर्मचारी एकै ठाउँमा जम्मा भई हिटर तापिरहेका थिए। कुनै कोठामा कर्मचारी मोबाइल चलाइरहेका थिए। फाइल बोकेका कर्मचारी यताउति दौडिरहेका थिए। बैठक कक्ष नजिकै शौचालय छ। त्यहाँ दुईवटा धारा छन्। तर, एउटामा पानी आउँदैन।

शौचालयमा ‘अटोमेटिक ह्यान्ड ड्रायर’ छ। तर, हावा आउँदैन। कार्यालयभित्र कहीँ पनि अपांगमैत्री शौचालय छैन। प्रधानमन्त्री कार्यालयको ढोका र तला तलामा टाँसिएको छ शपथ ग्रहणको अंश। जहाँ लेखिएको छ(म भ्रष्टाचार गर्दिनँ। म भ्रष्टचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।

थोत्रा गाडीको ‘डम्पिङ साइट’

प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ।

तर, प्रायस् सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्। सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्।

अव्यवस्थित पार्किङ

पुराना गाडीले ठाउँ ओगटेपछि नयाँ गाडी पार्किङ गर्न सकस भइरहेको देखिन्छ। ठाउँ(ठाउँमा बोर्ड टाँसेर फुटपाथमा पार्किङ नगरिदिनुहोला भन्दै सूचना जारी गरिएको छ। तर, नेताका गाडीले नियम मिचेका छन्।

दिउँसो १ बजे। कृषि तथा पशुपक्षी विकास मन्त्रालय परिसरमा नेताहरूका नयाँ ब्रान्डका गाडी आएर रोकिए। पार्किङ गर्ने ठाउँ थिएन। सूचनाको धज्जी उडाउँदै मान्छे हिँड्न बनाइएको सडकपेटी ढाकेर नेताका गाडी पार्किङ गरियो। काम लिएर सिंहदरबार छिरेका एक पैदलयात्री भन्दै थिए, ‘सडकमा मन्त्रीको गाडीको लावालस्कर छ। फुटपाथमा पनि पार्किङ गर्‍या छ।’

गृहमा पूर्वलडाकु निषेध

कुनै बेलाका विद्रोही कमान्डर रामबहादुर थापा अहिले गृहमन्त्री छन्। उनकै मन्त्रालयभित्र गत महिना एक घाइते पूर्वलडाकुले विषपान गरी आत्महत्याको प्रयास गरे।

उक्त घटनापछि पूर्वघाइते लडाकुहरू अनशन बस्न माइतीघर पुगे। गृहमन्त्रीलाई भेटेर उपचारको आग्रह गर्दै गुनासो गरे। तर, माग पूरा भएन। अनशन बस्दाबस्दै माग पूरा भएन। बरु स्वास्थ्य बिग्रियो। उनीहरू अहिले वीर अस्पतालमा छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्