भिआइपी अभिव्यक्ति भिआइपी नै भ्रामक



काठमाडौं: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ ।

 

गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए। तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी पन्तको हत्यारा अझै पत्ता नलागेको बताए। ‘अनुसन्धान भइरहेको छ। अनुसन्धान क्रममा कहिले छिटै परिणाम प्राप्त हुन्छ, कहिले धेरै समय पनि लाग्नसक्छ। यो केसमा पनि प्रहरीले अधिकतम साधानस्रोत प्रयोग गरिरहेको छ’, खनालले भने ।

 

मंसिर २२ गते राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधामन्त्री पोखरेलले भनेका थिए, ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं।’ रक्षामन्त्री पोखरेलको सो अभिव्यक्तिपछि प्रहरीले हत्यारा पत्ता लगाएको हो कि भन्ने विश्वास जागेको थियो तर महानिरीक्षक खनालले सोमबार हत्यारा पत्ता लगाउन अनुसन्धान भइरहेको बताएपछि भिआइपीका अभिव्यक्ति आधारहीन देखिएको छ।

 

रक्षामन्त्रीले अभिव्यक्ति दिएकै अघिल्लो दिन कञ्चनपुरका प्रदीप रावललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी बयान लिन थालेको थियो। दसौं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका थिए, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ। हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं।’ उनले कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै राजनीतिक आवरणमा हत्यारा जोगाउन नलाग्न भनेका थिए ।

 

उनले भनका थिए, ‘सरकारले त्यस (हत्यारा) लाई सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ। पुष्पाजी ख्याल गर्नुहोला।’ तर अहिलेसम्म प्रहरीले सो प्रकरणमा कसैलाई पनि अपराधी वा दोषी देखाएको छैन। रक्षामन्त्रीको अभिव्यक्तिअघि प्रधामन्त्री केपी शर्मा ओलीले पनि पन्तको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो।

 

रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले हत्यारा अझै पत्ता नलागेको स्पष्ट पारेको छ। प्रहरी महानिरीक्षक खनालले पन्तको हत्यारा खोज्ने क्रममा प्रहरीबाट पनि केही कमजोरी भएको स्वीकारेका छन्। ‘हतारमा परिणाम खोज्दा पक्कै पनि केही कमजोरी भए। कमजोरी गर्ने प्रहरी अधिकारीहरू कारबाहीमा परिसकेका छन्’, महानिरीक्षक खनालले भने। उनले गल्ती गर्ने प्रहरी संगठनका कर्मचारीलाई प्रशासनिक र फौजदारी कानुनअन्तर्गत कारबाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

एआइजीको प्रतिवेदन गोलमोटल

पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीबाटै लापरबाही भएको पाइएपछि एआइजी धीरु बस्न्यातको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। सो समितिले तीन महिना अनुसन्धानपछि तयार पारेको प्रतिवेदन गोलमोटल छ । बस्न्यातको टोलीले १८ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेको भए पनि कस–कसले के–कस्तो गल्ती गरेका हुन् भन्ने विषय खुलाइएको छैन।

 

विषय नखुलाउँदा कसले के गल्ती गरे भन्नेबारे प्रहरी प्रधान कार्यालय अन्योलमा छ। समितिको प्रतिवेदनमा एसपी डिल्लीराज बिष्टसहित दुई डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी, तीन इन्स्पेक्टर, चार सई, तीन हबल्दार र बाँकी पाँच जवानलाई कारबाहीका लागि सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जनाएका छन्। जसमध्ये डिएसपी सेठीले अवकाश पाइसकेका छन् ।

 

बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ। अंगुर जिसीबारे दुई प्रहरी अधिकृतको बयान बाझिएको छ। मुद्दा शाखामा रहेका तत्कालीन डिएसपी सेठी र प्रहरी निरीक्षक एकिन्द्र खड्का तथा मुद्दा शाखाकै सई वासुदेव अवस्थीको बयान बाझिएको छ। सई अवस्थीले यसअघि दोषी घोषणा गरिएका दिलीपसिंह बिष्टको घरबाट सर्टको खल्ती च्यातेर ल्याएर डिएसपी जिसीले सबुत प्रमाणका रूपमा देखाएको बयान दिएका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्