दाङमा दुर्घटना बढ्दो, ६ महिनामा ६१ जनाको मृत्यु



दाङ: गत शुक्रबार विद्यार्थी बोकेर सल्यानबाट तुलसीपुर आउँदै गरेको बस राम्री भन्ने स्थानमा भयानक दुर्घटनामा प-यो। बसमा सवार २२ जनाको ठाउँको ठाउँ मृत्यु भयो । एक जनाको उपचारका क्रममा मृत्यु भयो भने १४ जना घाइते भए। दुर्घटना भएको स्थानमा सडक भिरालो छ । अनि घुम्ती पनि अत्यन्त साँघुरो छ। त्यसमाथि सडक छेउमा (बस खसेको स्थलतर्फ) छेकवारका लागि कुनै संरचना छैन। नत घुम्तीमा चालकलाई सजग गराउने कुनै ट्राफिक संकेत नै छ ।

 

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार बसको तीव्र गति दुर्घटनाको अर्को कारण हो। आफ्नो दिशा छाडेर बस पल्लो छेउबाट खस्नु गति नियन्त्रण गर्न नसक्नुकै परिणाम भएको उनको अनुमान छ। यो दुर्घटनाका नौ दिनअघि मात्र मंसिर २७ गते दाङकै रिहारमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुलाहाका बाबुआमासहित ६ जनाको घटनास्थलमै मृत्यु भयो ।

 

चितवनबाट दुलही लिएर बाँकेको शमशेरगन्ज जाँदै गरेको उक्त जिप राति १ बजेतिर लमही नगरपालिका–९ रिहारमा बससँग ठोक्किएको थियो। प्रहरीले यो दुर्घटनाको कारण पनि स्कारपियोको अनियन्त्रित गति भनेको छ। विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किन पुगेको जिपले आफ्नो दिशा पूरै छाडेको थियो ।

 

पछिल्लो नौ दिनमा दाङमा यी दुई सवारी दुर्घटना भएका हुन्। यसअघि भएका दुर्घटनामा पनि धेरैले ज्यान गुमाइसकेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा दाङमा १ सय २४ सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा ६१ जनाले ज्यान गुमाएका छन् भने १ सय १० जना गम्भीर घाइते भए। यसैगरी ६३ जना सामान्य घाइते भए। यी दुर्घटनामध्ये १६ बस, १३ जिप÷कार, ६७ मोटरसाइकल तथा १३ ट्याक्टर दुर्घटनामा परेका हुन्। यस्तै सात ट्याम्पो तथा अन्य (साइकल र रिक्सा) दुई दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्