रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव



रोल्पा : रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ। कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्।

दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर्ना भएका छन्। त्यसमा पनि २५ प्रतिशत विद्यार्थी पनि नियमित क्याम्पस आउँदैनन्।

उता जुगारमा रहेको नवनेपाल क्याम्पसमा प्रथम वर्षमा २५, दोस्रो वर्षमा ३५, तेस्रोमा ४५ र चौथो वर्षमा २१ विद्यार्थी मात्र भर्ना भएका छन्। तीमध्ये पनि दैनिक क्याम्पस आउने त्यस्तै २०/२२ जना मात्र होलान्। यो क्याम्पसमा स्थापना कालदेखि नै विद्यार्थीको खडेरी छ।

क्याम्पसका अनुसार यसको मुख्य कारण माध्यमिक तहमै पर्याप्त विद्यार्थी उत्तीर्ण नहुनु हो। ‘प्लस टुकै रिजल्ट गतिलो आउँदैन, अनि हाम्रोमा कसरी विद्यार्थी आउन्,’ जलजला बहुमुखी क्याम्पसका प्रमुख विष्णु आचार्य भन्छन, ‘यहाँका प्लस टुमा २०÷२५ प्रतिशत विद्यार्थी मात्र पास हुन्छन्।’

उनका अनुसार तीमध्ये पनि राम्रा विद्यार्थी क्याम्पस पढ्न जिल्ला बाहिर जान्छन्। ‘हामीकहाँ त बाँकी बसेका केही विद्यार्थी मात्र आउने हुन्,’ उनले भने,‘जसका कारण हाम्रो नतिजा पनि सन्तोषजनक आउँदैन।’

नवनेपाल क्याम्पसका प्रमुख गोविन्दबहादुर केसी पनि प्लस टुको नतिजा राम्रो नआउँदा आफ्नो क्याम्पसमा विद्यार्थी बढ्न नसकेको बताउँछन। ‘प्लस टुको रिजल्ट राम्रो आउने हो भने विद्यार्थी बढ्नेथिए। हाम्रो भौगोलिक अवस्था पनि त्यस्तै छ। राम्रा भनिएका धेरैजसो विद्यार्थी जिल्ला बाहिरी जान्छन्।’ त्यसो त जिल्लाका यी दुई क्याम्पसले पठनपाठन नै गतिलो गराउन नसकेको गुनासो पनि उत्तिकै छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्