असफल नेपाली विमान कम्पनी : जो उड्दाउड्दै ग्राउन्डेड भए



काठमाडौं : नेपालको हवाईसेवामा नयाँ–नयाँ व्यवसायीहरू उत्साहित रूपमा लगानी गर्न आइरहेका छन्, तर सफलता भने सीमितले मात्रै पाएका छन् । विगत छोटो इतिहास हेर्‍यो भने पनि एकपछि अर्को गर्दै नेपालका हवाई कम्पनीहरू बन्द भएका छन्, सञ्चालनमा रहेकामध्ये पनि केही कम्पनी मात्रै सफल छन् । बाहिरबाट हेर्दा ग्ल्यामर देखिए पनि व्यावसायिक अनुभव र दीर्घकालीन योजनाविना लगानी गर्दा आरपी प्रधान, नारायणसिंह पुन, विशेन्द्रबहादुर बस्नेत, सुधीर बस्नेत, प्रदीपशमशेर राणाजस्ता व्यवसायी पनि असफल भएका छन् ।

नेपालमा नेपाल एयरलाइन्सले आन्तरिक उडानको सुरुवात गरेको हो । अहिले करिब २० वटा एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार रोटर विंग्स एयरलाइन्स कम्पनी १० वटा सञ्चालनमा छन् भने फिक्स विंग्स कम्पनी १० वटा छन् । कम्पनीहरूसँग २८ हेलिकोप्टर र ४४ वटा फिक्स विंग्स जहाज छन् । त्यस्तै, प्राधिकरणसँग उडान अनुमति लिएर सञ्चालनमा नै नआएका कम्पनी संख्या करिब २० वटा छन् भने सञ्चालनमा भएर पनि धराशायी भएका कम्पनीको संख्या २० वटा पुगेका छन् । यद्यपि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भने ८३ वटा कम्पनी दर्ता भएका छन् । 

तत्कालीन समयमा एयरलाइन्स कम्पनी सञ्चालनका लागि प्राधिकरणले कुनै प्रावधान तोकेको थिएन । त्यसैले पुँजी भएका जोकोहीले पनि एयरलाइन्स कम्पनी दर्ता गरे । तर, पर्याप्त पुँजी, अनुसन्धान र दीर्घकालीन योजना नभएका कारण कतिपय कम्पनी दर्ता भएर पनि सञ्चालनमा आउन सकेनन् भने कतिपय कम्पनी सञ्चालन भएर पनि बन्द भए । 

कस्मिक एयर 
नेपालमा राम्रो पब्लिसिटी गरेर सञ्चालन गरिएको एयरलाइन्स कम्पनीमध्ये कस्मिक एयर एक थियो । कम्पनीले पहिलोपटक १९९७ नोभेम्बर ३० मा नागरिक उड्डयन प्राधिकरणबाट एओसी पाएको थियो । दोस्रोपटक २००३ नोभेम्बर १३ मा एओसी लिएको थियो । कम्पनीसँग हेलिकोप्टरसहित १९ वटा जहाज थिए । उसले दिल्ली, बनारस र कोलकातामा समेत उडान भथ्र्याे । कम्पनीले तत्कालीन समयमा सबैभन्दा सस्तोमा दिल्ली उडान गथ्र्यो । दिल्ली एकोहोरो टिकटको मूल्य २ हजार ४ सय तोकेको थियो । दिल्ली दैनिक ३ वटासम्म उडान थियो । एयरलाइन्सले साब (क्यानोडियन), डरनियर  (जर्मन) र फोक्कर (नेदरल्यान्ड) कम्पनीमा जहाज नेपाल भिœयाएको थियो । त्यति मात्र नभएर कम्पनीले टिकट खरिद गर्ने यात्रुलाई मोटरसाइकलसमेत उपहार राखेको थियो । दिल्लीको प्रत्येक उडानमा गोलाप्रथाद्वारा एकजनालाई मोटरसाइकल उपहार प्रदान गथ्र्यो ।

कस्मिकमा आरपी प्रधानको मुख्य लगानी थियो । आरपी प्रधान पूर्वराजा वीरेन्द्र शाहका हेलिकोप्टर पाइलट थिए । उनी वीरेन्द्रका विश्वासिला पात्र पनि थिए । आरपी प्रधानले एयरलाइन्स राम्रैसँग चलाएका थिए । पछि एयरलाइन्सको जिम्मेवारी आरपीका छोराले लिए । त्यसपछि एयरलाइन्स व्यावसायिकभन्दा पनि व्यक्तिगत सेन्टिमेन्टमा चल्न थाल्यो, जसका कारण कम्पनी धराशायी हुँदै गयो ।

एभरेस्ट एयर 
एभरेस्ट एयरले १९९६ फेब्रुअरी १५ मा नागरिक उड्डयन प्राधिकरणबाट एओसी पाएको हो । कम्पनीमा खेतान समूह र आरपी प्रधानको लगानी थियो । कम्पनीसँग हेलिकोप्टरसहित १० वटा जहाज थिए । कम्पनीले आन्तरिक उडान मात्रै गथ्र्यो । तत्कालीन समयमा कम्पनीले राम्रै व्यवसाय गरेको थियो । तर, साझेदारीमा कम्पनी सञ्चालन गरेकै कारण पछि समस्या देखिन थाल्यो । त्यसैले सञ्चालनको छोटो अवधिमा नै कम्पनी धराशायी भयो । कम्पनीले क्षेत्रीय उडानका लागि पनि एओसी पाएको थियो । तर, लगानीकर्ताबीच समझदारी नहुँदा कम्पनी धराशायी भयो ।

नेकोन एयर 
नेकोन एयरले कम्पनी सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणबाट सन् १९९६ मार्च २१ मा एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको हो । कम्पनीमा अनुपशमशेर राणा, दीपमणि राजभण्डारीलगायतका व्यवसायीको लगानीमा थियो । कम्पनीसँग १३ वटा जहाज थिए । एभ्रो (बेलायत), एटिआर (फ्रान्स) लगायतका कम्पनीबाट जहाज नेपाल भित्र्याएको थियो । कम्पनीले  अन्तर्राष्ट्रिय र आन्तरिक दुवै खालका उडान गथ्र्यो । बनारस, लखनउ र पटनामा कम्पनीले जहाज भथ्र्यो । आन्तरिकतर्फ ट्रंक र स्टोल दुवै रुटमा जहाज उडाउँथ्यो । तत्कालीन समयमा कम्पनी निकै नाफामा थियो । व्यवसाय राम्रो हुँदै गएपछि कम्पनीले प्राथमिक सेयर निष्कासन गर्‍यो । तत्पश्चात् कम्पनीको व्यवसाय झर्दै गयो । आइपिओ जारी गर्नु नै नेकोन एयरका लागि दुर्भाग्यपूर्ण भएको व्यवसायी बताउँछन् । 

नेपाल एयरवेज 
नेपाल एयरवेज १९९६ फेब्रुअरी १५ मा नेपाल नागरिक उड्डयन प्राधिरकणबाट एओसी लिएको थियो । कम्पनीसँग १४ वटा जहाज थिए । कम्पनीले वाई–१२ (चाइनिज), डरनियर (जर्मन) साब (स्विडेन) कम्पनीका जहाज नेपाल भित्र्याएको थियो । कम्पनीले स्टोल र ट्रंक रुटमा जहाज उडाएको थियो । कम्पनीमा देखिने गरी प्रदीपशमशेर राणाको लगानी भए पनि अप्रत्यक्ष रूपमा सुन व्यवसायीहरूको लगानी रहेको व्यवसायीहरू बताउँछन् । कम्पनीसँग ३ वटा हेलिकोप्टर थिए । 

गोर्खा एयरलाइन्स 
गोर्खा एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणबाट १९९६ जुन १८ मा एओसी पाएको थियो । कम्पनीमा सूर्यप्रसाद श्रेष्ठको लगानी थियो । कम्पनीसँग हेलिकोप्टरसहित ६ वटा जहाज थिए, जसले आन्तरिकतर्फ ट्रक र स्टोल दुईवटै रुटमा जहाज उडाउँथ्यो । 

लुम्बिनी एयरवेज 
लुम्बिनी एयरवेज कम्पनी नागरिक उड्डयन प्राधिकरणबाट सन् १९९६ फेब्रुअरी ७ मा एओसी पाएको थियो । कम्पनीमा व्यवसायी राजु शाक्यको लगानी थियो । शाक्य भैरहवाका व्यवसायी हुन् । उनी जापानमा बस्थे । कम्पनीसँग ६ वटा जहाज थिए । तत्कालीन समयमा कम्पनीले राम्रो व्यवसाय गरेको थियो । तर, पछि अन्य कम्पनीसँग भने प्रतिस्पर्धा गर्न सकेन । 

एसियन एयरलाइन्स
पर्यटन व्यवसायीले आङछिरिङ शेर्पा (सोलु) ले एसियन एयरलाइन्समा लगानी गरेका हुन् । उनले १९९६ फेब्रुअरी ५ मा कम्पनी सञ्चालनका लागि नागरिक उड्डयन प्राधिरकणबाट एओसी पाएका थिए । कम्पनीसँग २ वटा जहाज थिए । तर, शेर्पाले कम्पनी आफ्ना नातेदारलाई पनि पार्टनरका रूपमा भित्र्याए, जुन उनका लागि दुःखद कारण बन्यो  । 

कर्णाली एयर 
नेपाली सेनाबाट रिटायर्ड भएका क्याप्टेन नारायणसिंह पुनले आफ्नै लगानीमा कर्णाली एयर कम्पनी सञ्चालन गरेका थिए । उनीसँग अप्ठ्यारो ठाउँमा रेस्कु गर्न सक्ने लाइसेन्स पनि थियो । अर्थात्, उनी अनुभवी पाइलट थिए । कम्पनीसँग ९ सिटसहितका ७ वटा हेलिकोप्टर थिए । कम्पनीले राम्रो व्यवसाय गरेको थियो । तर, पछि पुन राजनीतिमा प्रवेश गरे । मन्त्री बन्ने दौडमा लागे, जसका कारण कम्पनी राम्ररी अगाडि बढ्न सकेन ।

माउन्टेन एयर
माउन्टेन एयर कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट १९९८ अक्टोबर १८ मा एओसी पाएको थियो । कम्पनीमा वीरेन्द्रबहादुर बस्नेतका भाइ शिवेन्द्रबहादुर बस्नेतको लगानी थियो । उनी पहिला बुद्ध एयरका पाइलट थिए । पछि आफैँले नै एयरलाइन्स कम्पनी खोलेका हुन् । 

कम्पनीसँग ३ वटा जहाज थिए । कम्पनीले ट्रक रुट र माउन्टेन फ्लाइट गथ्र्यो । दाजुको सिको गर्दै एयरलाइन्स सञ्चालन गरेका शिवेन्द्रले लामो समय कम्पनी टिकाउन सकेनन् । कम्पनी बन्द भएपछि उनले फेरि शिवानी एयर नामक कम्पनी सञ्चालन गरे । उनले चितवनमा एयर स्कुलका लागि यो कम्पनी सञ्चालन गरेका थिए । नेपालमा नै पाइलट उत्पादन गर्ने उनको योजना पनि सफल हुन सकेन । 

डा. लेखनाथ भण्डारी 
पर्यटनविज्ञ 

नेपालमा एयरलाइन्स कम्पनीहरू धराशायी हुनुका मुख्य तीनवटा कारण छन्– पहिलो कम्पनीका लागि उपयुक्त सरकारी नीति अभाव हुनु । दोस्रो, पुँजीको अभाव र तेस्रो व्यावसायिक अभ्यास नहुनु हो । अन्य मुलुकको तुलनामा नेपालमा एयरलाइन्स कम्पनीको प्रयोग गर्ने इन्धन, विमानस्थलको सेवासुविधाको शुल्क र उपकरणमा लाग्ने कर महँगो छ, जसका कारण कम्पनीलाई आर्थिक भार थपिएको छ । त्यस्तै, नेपालमा दर्ता गरिएका कम्पनीहरूमा पुँजीको अभाव छ । एयरलाइन्स कम्पनी सञ्चालन गर्न थोरै रकमले पुग्दैन । ठूलो रकमको आवश्यकता पर्छ । त्यस्तै नेपालमा जुन क्षेत्रका व्यवसायीले पनि एयरलाइन्स कम्पनी खोल्ने अभ्यास छ । जोसँग पुँजी छ, उनीहरूले अनुभव र अध्ययनविना नै एयरलाइन्स कम्पनी खोलेका छन् । 

योगराज कँडेल
प्रवक्ता, नेपाल वायुसेवा सञ्चालक संघ 

नेपालमा हवाई व्यवसाय संकटमा छ । यो व्यवसाय बाहिर जति ग्ल्यामर देखिन्छ, वास्तविकता त्यस्तो छैन । नेपालको भौगोलिक विकटता, मौसमलगायतका कारण हवाई व्यवसाय प्रभावित बनेको छ । यही क्षेत्रमा अनुभव बटुलेका लगानीकर्ताको अभाव छ । अन्य व्यवसायबाट आम्दानी गरेर हवाई क्षेत्रमा लगानी गर्न आउने धेरै छन् । त्यस्तै, लगानीकर्तासँग व्यावसायिक अनुभव र दीर्घकालीन योजना नहुँदा लगानीकर्ता असफल भएका छन् । यो क्षेत्र बाहिर देखिएजस्तो नाफामूलक छैन । प्राविधिक क्षेत्र हो । त्यसैले दीर्घकालीन योजना र व्यावसायिक भिजन भएका लगानीकर्ताको अभावमा कम्पनी धराशायी भएको हो । यो समाचार आजको नयाँ पधिका दैनिकमा मुना कुँवरले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्