किन रोकियो ग्याँस अन्वेषण कार्य ?



काठमाडौं : खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकामा ग्याँस अन्वेषणका लागि तयारी गरिरहेको छ । बस्ती बस्नुअघि विसाल प्राकृतिक तालको रुपमा रहेको काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा ग्यास रहेको अनुमान पहिलेदेखि गरिँदै आएको छ । तर त्यसको अन्वेषण भने टेकुको दोभानमा गरिने तयारी भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

यसका लागि आवश्यक अन्वेषण खर्चस्वरुप विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ । हालसम्म गरिएको पूर्वानुमानका आधारमा काठमाडौं उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको आंकलन गरिएको छ ।

अन्वेषण परिपक्वताका साथ गरिन लागिएको विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताएका छन् । उनका अनुसार यो अन्वेषण प्रक्रियालाई टेन्डरमार्फत उत्खनन् परीक्षणमा लागिने छ । विभागले दिएको जानकारी अनुसार यसअघि मिथेन ग्याँस अन्वेषण सफलतापूर्वक गरिएको छ ।

यस अघिको प्रारम्भिक अन्वेषणमा काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन भइसकेको र अब गर्न थालिएको अन्वेषण १५औं भएको र नयाँ ठाउँ दोभानमा गर्न थालिएको श्रेष्ठले बताए । श्रेष्ठले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ भित्र अन्वेषण कार्यक्रम सकाइसकने गरी तयारी गरिएको छ ।

विभागको अभिलेखअनुसार जापानी सहयोग निकाय (जाइका) को सहयोगमा सन् १९७८ मा उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लगाइएको थियो । त्यसलगत्तै जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा लगातार अन्वेषण गरेको थियो ।

अध्ययन गरिएका ती १४ स्थानमै मिथेन ग्याँस उत्पादन गर्न सकिने संभावना भएकाले उत्खनन्का लागि सिफरीससमेत गरिएको थियो । तर नेपाल सरकारले उत्खनन्का लागि योजना अघि बढाएको थिएन । विज्ञहरुका अनुसार जमिनमुनि रहेको मिथेन ग्याँस उत्खनन् गर्न ठूलो लगानीका साथै आधुनिक प्रविधिको आवश्यकता पर्छ ।

२०३७ सालदेखि २०४५ सम्म गरिएका अन्वेषणमा त्रिपुरेश्वर क्षेत्रका सात ठाउँमा मात्र ४ किलोमिटर क्षेत्रफलमा ८५ मिटर मोटाइमा ३५ प्रतिशत ग्याँस रहेको अध्ययन रिपोर्टमा उल्लेख छ । त्रिपुरेश्वरको यो क्षेत्रमा मात्र ३ सय ५ मिटर गहिराइमा ग्याँस भेटिएको थियो ।

प्रयोगका लागि भनेर तात्कालीन सरकारले २०४० सालमा टेकुमा मिथेन ग्याँस प्लान्ट बनाएको थियो । २०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्दा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोलमा पानीबाट छुट्याएर राखिएको ग्याँसप्लान्टमा जोडिएको चुलोमा आगो बालेर परीक्षणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्