उहानको त्यो लोभलाग्दो आतिथ्यपूर्ण स्वागत



उहान : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सेभेन्थ सिज्म्स मिलिटरी वर्ल्ड गेम्स) का लागि विश्वभरबाट ओइरिएका पाहुनाको स्वागतमा चीनले प्रस्तुत गरेको आतिथ्यता र व्यवस्थापकीय कौशल जो कसैका लागि प्रेरणादायी छ ।

उक्त प्रतियोगिताको व्यवस्थापकीय शैली आउँदा दिन यस्तै भव्य र सफल कार्यक्रम आयोजना गर्न चाहने अन्तर्राष्ट्रिय समुदायका लागि सिक्ने पाठशालाकैरुपमा स्थापित भएको छ । प्रतियोगितामा भाग लिन आएका पाहुनाहरु चिनियाँ भूमि टेक्नासाथ ‘नि हाओ, कन् ओ चौँ अर्थात् (हेलो र फलो मी) बाट शुरु भएको स्वागत अभिवादन र अतिथि सत्कारको शृङ्खला प्रतियोगिता सकेर फर्कने क्रममा विमान चढ्दासम्म यथावतै रह्यो ।

मध्य चीनको हुवेई प्रान्तको उहानमा कात्तिक १ देखि १० गतेसम्म आयोजना भएको यस प्रतियोगितामा १०९ राष्ट्रका करीब १० हजार खेलाडीले दुई प्रदर्शनसहित २७ खेल विधामा स्पर्धा गरेका थिए । प्रतियोगितालाई भव्य र सभ्य बनाउन विमानस्थलमै खेलाडी, प्रतिनिधिमण्डल, सञ्चारकर्मी टोलीको स्वागत, सामानको व्यवस्थापनदेखि आवासस्थल, क्यान्टिन, मिडिया सेन्टर, खेलमैदानमा पु¥याउन र ल्याउन ठूलो सङ्ख्यामा स्वयंसेवक खटाइएको थियो । यातायात र सुरक्षा प्रवन्धमा खेल अवधिभर कहीँ पनि कमजोरी र चुकेको भनेर खोट लगाउन ठाउँ थिएन ।

प्रतियोगितामा सहभागी हुन आएका पाहुना कतै पनि अलमलमा नपरून् भनी कलेजमा अध्ययनरत तालीम प्राप्त मृदुभाषी छात्रछात्रालाई स्वयम्सेवकका रुपमा परिचालन गरिएको थियो । साना समस्याको पनि सामूहिक प्रयासमा समाधान खोज्ने स्वभावका ती स्वयंसेवकले सबै पाहुनाको मन जिते । कोठाबाट, भवनबाट, क्यान्टिनबाट, खेल परिसरको मूलद्वार प्रवेश गर्दा होस् वा बाहिर निस्कदा प्रत्येक स्थानमा ठूलो सङ्ख्यामा पङ्क्तिबद्ध भई स्वागत र विदाइका लागि उभिएका हुन्थे । सेतो क्याप, सेतो पाइन्ट तथा आधा हरियो–आधा सेतो रङको हरियो ज्याकेट लगाएका हँसिला मुहारमा पाहुँनाको आउने जाने ठूलो लर्को भइरहने हुनाले उनीहरु ‘नी हाओ, ह्वान इङ्ग, चाइ चेन्’ (नमस्कार, अभिवादन र वाईवाई) एकै स्वरमा भन्थे । उनीहरुको नम्रता र शिष्टताले अधिकाँशलाई प्रभावित पारेको देखिन्थ्यो ।

प्रतियोगीतामा भाग लिने नेपाली टोलीका मिसन प्रमुखका रुपमा खटिनुभएका महासेनानी शशीकिरण छन् –हामीले कल्पना नै नगरेको निकै उच्चस्तरको आतिथ्य, व्यवहार र खानपीन देख्न र भोग्न पायौं, ठूलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न कुन स्तरको, केकस्तो आतिथ्य र व्यवस्थापन गर्न पर्दोरहेछ भन्ने ठूलो शिक्षा र उत्साह मिलेको छ, कुन खेलाडीलाई कति क्यालोरीको खानपीन आवश्यक छ भन्ने पक्षको पनि व्यवस्थापन गरेको देख्दा अचम्म लाग्यो ।

प्रतियोगितामा भाग लिन आएका पाहुनाको सुविस्ताका लागि उहान प्रान्त सरकारले मेट्रो रेल, सार्वजनिक बस र ठूला शपिङ मार्केटमा समेत पर्याप्त मात्रा स्वयंसेवकहरु खटाएको भेटिन्थ्यो । भाषागत कठिनाइ हटाउन चिनियाँबाट अङ्ग्रेजी अनुवाद हुने एप्स डाउनलोड भएको मोबाइल बोकेका उनीहरुको व्यवहारमा राष्ट्रपे्रम र राष्ट्रप्रति बफादारिता झल्कन्थ्यो । नेपालले आगामी सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा चिनियाँ शैलीको अतिथि सत्कार, संस्कार र व्यवस्थापनको यस्तै अनुसरण हुन सके नेपाल सरकार र पर्यटन व्यवसायीका लागि मात्र हैन सम्पूर्ण नेपालीकै लागि श्रेयस्कर ठहर्ने छ ।

उहानमा पुगेका पाहुनालाई त्यहाँका ऐतिहासिक स्थल, सम्पदा र आधुनिक प्रविधिबारे जानकारी गराउन पनि ती स्वयंसेवकहरु धेरै हदसम्म सफल रहे । उहानमा पछिल्लो समय चालकरहित बस, कार र ब्रुमरसमेतको सफल परीक्षण भइसकेको छ । उहानस्थित याङसी नदी किनारमा रात्रिकालीेन समयमा देखिने सप्तरङगी झिलीमिली र ऐतिहासिक सम्पदाको रुपमा संरक्षण ‘एलो टेम्पल’ले पनि त्यहाँ पुगेका विदेशी पाहुँनाको मन हर्षित तुल्यायो ।

उहानका ३५ स्थलमा ३२९ वटा खेलका स्पर्धाहरु भए । नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक १३ खेल विधामा भाग लिएको थियो । प्रतियोगीतामा कुनै पदक हात नपारेपनि नेपालले सैनिक कूटनीति सम्वन्ध विस्तार र ‘भिजिट नेपाल २०२०’ को प्रचार प्रसार गर्ने सुवर्ण अवसर पायो ।

विशिष्ट पाहुनासहित ६० हजार दर्शक क्षमताको उहान स्पोर्ट्स सेन्टरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन समारोहमा इतिहासको स्मरण र वर्तमानको मूल्याङ्कन गर्दै चीनले संयुक्त राष्ट्रसङ्घको छाताभित्र गोलबद्ध भई शान्ति पथमा अग्रसर हुन खेलकूदलाई माध्यम बनाउन सबैलाई आह्वान गरेको थियो । सहभागी मुलुकका प्रत्येक देशका झण्डा बोकेका सैनिक खेलाडीको मार्चपासबाट शुरु भएको उद्घाटन सत्रमा समारोहस्थलमै क्षणभरमै अग्लो पहाड, समुद्र, हरियाली कृषि फाँट मात्र होइन, द्रूतगतिमा रेलसमेत कुदाएर चीनले सबै दर्शक र खेलाडीलाई चकित तुल्यायो ।

चीनले समापन समारोहमा एउटा पनि पटाका पड्काएन । तर पनि नवीनतम् प्रविधिले अबको दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने तथ्यलाई पनि प्रतियोगिता आयोजनाकै अवसरमा चरितार्थ गरेर देखायो । समारोहस्थलमा प्रस्तुत यत्रतत्र सप्तरङ्गी झिलिमिलीले दर्शक र खेलाडीलाई भरपूर मनोरञ्जन त दिएकै थियो ।

प्रतियोगितालाई ऐतिहासिक तुल्याउने क्रममा चीनले उहानमा ३० देखि ४० तल्लासम्मका अग्ला ४० वटा भवन रहेको नयाँ ‘मिलिटरी स्पोर्ट्स भिलेज’ नै निर्माण गरेको थियो । उक्त भिलेजसम्म जोड्न १० किलोमिटर लामो नयाँ भूमिगत मेट्रो रेल स्टेशन विस्तार गरेको चीनले उहान नगरलाई हरियाली तुल्याउन सबै सडकका दुवै किनारामा सिङ्गै अग्ला रूख रोपेको थियो ।

प्रतियोगितामा सहभागी खेलाडी, कर्मचारी र सञ्चारकर्मीका लागि बेग्लाबेग्लै स्थानमा एकै पटक चार हजारभन्दा बढी व्यक्तिले आफूले इच्छाएको खाना लिन सक्ने गरी क्यान्टिनको व्यवस्था गरिएको थियो । भान्छेहरुले ‘तपाईंलाई परिकार कस्तो लाग्यो ?’ ‘कुनै गुनासो छ कि !’ भनी सोधिरहन्थे । परिकार र खानाको गुणस्तर पाँचतारे होटल जतिकै थियो । ‘खेलकूदका माध्यमबाट मित्रता’मा जोड दिइएको यस प्रतियोगितामा ओलम्पिक पदक विजेता ६७, विश्वकपका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने ११८ र यसअघिको विश्व सैनिक खेलकूद प्रतियोगिताका पदकधारी ४३ जना खेलाडीको पनि सहभागिता थियो । नेपालका तर्फबाट ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो लगायतका केही खेलमा उत्कृष्ट प्रदर्शनी भयो । यस पटक प्रतियोगिता आयोजक राष्ट्र चीनले झण्डै आधाजस्तो पदक आफ्नै पोल्टामा पा-यो । ‘सैनिक गौरव : विश्व शान्ति’ मूल नारा रहेको प्रतियोगिताको चीनका राष्ट्रपति सी चिनफिङले अक्टोबर १८ का दिन उद्घाटन गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्