१२ वर्षे गर्भवती बालिकाका आफन्तको हृदयविदारक वेदना



काठमाडौं : केही दिन पहिले अछाम रामारोशनमा एक १२ वर्षीया अबोध बालिकाको पेटमा ५ महिनाको शिशु हुर्किइरहेको छ भन्ने दूरदराजको समाचार बनेकी सुस्त मनस्थिति भएकी चेली अहिले काठमाडौं थापाथलीस्थित प्रसुती अस्पतालमा भर्ना भएकी छिन् । उनी आफ्नो बढिरहेको पेट, पेटभित्र हुर्किरहेको बच्चा र आफैलाई काठमाडौंमा लिएर आएका ठूलाबाबाको छटपटी, कानुनी अप्ठेराहरु, अस्पतालले खेलिरहेको भूमिका र हुनसक्ने संभावित उपचार तथा घर फिर्तीका बारेमा अनभिज्ञ छिन् । योभन्दा ठूलो बिडम्बना अरु के हुन सक्ला ?

तर भइरहेको छ यही । प्रसुती गृहमा उनलाई बेडभर्ना गरिएको छ । बित्दै गरेका दिन कति पीडादायी छन् ? उनको हालको अवस्था सचेतन मानवका बीचमा कति दर्दनाक मनोवैज्ञानिक तथा शारीरिक पीडाका रुपमा लाखौं मानिसहरुका बीचमा शेयर भैरहेको छ । त्यसबाट पनि उनी पूरै बेखबर छिन् । सोधेको कुराको जवाफ एक शब्दमा, त्यो पनि निकै ढिला दिने गर्छिन् । जवाफ दिनुभन्दा पहिले निर्दोष हाँसो ‘फिस्स’ हाँस्छिन् । मानौ यो संसार उनीजत्तिकै निर्दोष छ ।

तर उनी सांसारिक अपराधको सिकार भएकी छिन् । त्यो उनलाई थाह छैन । उनका जेठा बाबा कृष्णबहादुरको चिन्ता र छटपटीको रत्तिभर छाँया देखिदैन उनको निर्दोष अनुहारमा । निस्कलंक उनको जीवन कलंकितहरुले लुछिसकेका छन् । त्यो पनि पत्तो छैन उनलाई । ती निर्दोष बच्चीको पेटमा हुर्किरहेको बच्चो पनि निर्दोष छ । ती निर्दोष बच्ची आफ्नै अबोध संसारमा मग्न छिन् र उनको पेटभित्र हुर्किरहेको बच्चा पनि गर्भकै संसारमा खेलिरहेको छ, हुर्किइरहेको छ ।

तर बाहिरी वातावरण भने स्तब्ध छ । के गरे उनको उद्दार हुन्छ ? उनको अवस्था कानुनको घेरामा छ, मानव अधिकारको घेरामा छ, उद्दार र सहयोगको अपेक्षामा छ । कानूनी र मानवीय सहयोगभन्दा पहिले आर्थिक सहयोगको जरुरी छ । जीवन हो, साँझ बिहान हातमुख जोड्नु पर्ने बाध्यता छ । वडाले दिएको २० हजार रुपैयाँ काठमाडौं आउँदासम्म सकिइसकेको छ । अरुले गरेका आर्थिक सहयोग पनि सकिइसकेको बताउँछन् अभिभावक कृष्णबहादुर ।

अस्पतालमा प्रसुतिसम्बन्धी सेवा निशुल्क छ, तर ती अबोध नानी, जेठा बाबा र सहयोगका लागि पठाइएकी एक महिला प्रहरीका लागि आवश्यक दैनिक खर्च सकिइसकेको छ । उनीहरु अहिले सहयोगी हातहरुको प्रतिक्षामा छन् । अबका दिनबाट अस्पतालको क्यान्टिनमा खाएको खानाको पैसा पनि तिर्न नसक्ने अवस्थामा छन् उनीहरु । कुन प्रकारको उपचार गरिन्छ, त्यो कति सफल हुन्छ ? उपचारपछि डिस्चार्ज गरेमा कहाँ लैजाने र घर पनि कसरी र के पैसाले फर्कने ? यी समस्याहरुले ती अबोध बालिकाका अभिभावक जेठा बाबा कृष्णबहादुरलाई निकै सताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्