प्रधानमन्त्री ओलीद्वारा सचिवालयका सबै लाई राजीनामा दिन निर्देशन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा कार्यरत कर्मचारी र सहयोगी सबैलाई राजीनामा दिन निर्देशन दिएका छन् । सचिवालयका कर्मचारी तथा सहयोगीहरुको काम गर्ने शैली र ढंग नहुँदा गरिएका काम पनि परिणाममुखी हुन नसकेको पीडाबोध गर्दै प्रम ओलीले सबैलाई राजीनामा दिएर बाटो खुला गर्न निर्देशन दिएका हुन् ।

पटकपटक सुधारको कुरा उठाइरहने प्रम ओली यसो गरेर आफू र आफ्नो मातहतबाटै सुधारका कामहरु थालेर प्रशासनिक काममा गति ल्याउन सुर कसेका देखिन्छन् । प्रमनिकट स्रोतले प्रम ओलीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई यो महिनाभित्र राजीनामा दिन निर्देशन दिएको साँचो भएको बताएको छ ।

आफ्ना पार्टीका कार्यकर्ता र सहयोगी मात्र होइन, सचिवालयमा कार्यरत निजामती कर्मचारीसमेतलाई सचिवालय खाली गर्न निर्देशन दिइसकेका छन् । प्रम ओलीकै शब्दमा ‘अहिले भएका कसैलाई आवश्यक भए पछि बोलाउँछु, अहिले सबैले राजीनामा दिनु’ भन्ने आदेश भएपछि सचिवालयमा भूकम्प गएको छ ।

प्रमको ती सबैसँग जनताको चाहनाअनुरुप अघि बढाइएका काम समयमै र सकेसम्म समय अगावै सम्पन्न गर्ने स्प्रिटलाई कायम गर्न भनी दिएको निर्देशन पछ्याउन नसकेको गम्भीर गुनासो छ । यता सचिवालय खाली गर्न निर्देशन दिएसँगै प्रम ओलीले तिनका ठाउँमा उपयुक्त वैकल्पिक पात्रहरुको खोजी गरिरहेको पनि स्रोतको दाबी छ ।

सबैभन्दा पहिले प्रमको प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा महेन्द्र पाण्डेलाई ल्याइहाल्ने वा अरु कोही पनि छन् भनी सरसल्लाह समेत सुरु भैसकेको छ । अन्य आवश्यक वैकल्पिक पात्रको खोजीका लागि सल्लाह हुँदै गरेका बखत सचिवालयमा कार्यरत पत्रकार कुन्दन अर्याल र रामशरण बजगाईंले राजीनामा बुझाइ घर फर्कने तयारी गरिरहेका छन् ।

अहिलेको सचिवालयमा कार्यरत राजेश बज्राचार्य र चेतन अधिकारीले भने सुधारसहितको नयाँ सचिवालयमा जिम्मेवारीपूर्ण कामका लागि निरन्तरता पाउने स्रोतको दाबी छ । प्रधानमन्त्री सचिवालयमा सुधारको कदम चालिएसँगै अब चर्चामा आइरहेको मन्त्रीमण्डल हेरफेरको काम पनि अघि बढाइने तालिका बन्दै गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्