यसरी बितिरहेछ मिस नेपालको दिनचर्या



काठमाडौं : नेपालको इतिहासलाई केलाएर हेर्दा नेपालमा सुन्दरी प्रतियोगिता सुरु भएको धेरै वर्ष भएको छैन । विश्वमा सुन्दरी प्रतियोगिता सुरु भएको करिब १ सय ६ वर्षपछि मात्रै नेपालमा सुन्दरी प्रतियोगिता सुरु भएको हो । नेपालमा मिस नेपालको ट्रेण्ड सन् १९९४ देखि भित्रिएको हो । ती प्रतियोगिताले केही समय दर्शक, स्रोता र पाठकहरुको ध्यान खिच्न सफल भए ।

ती सबैले नेपाल सुन्दरीको ताज पहिरिए । नेपाललाई विश्वभर चिनाउने वाचा गरे । तर, कालान्तरमा एकाएक हराए । अहिलेसम्म धेरै मिस नेपाल मिस नेपालको इतिहासमा तारासरी उदाए र छिनमै हराएर गए । मिस नेपाल हुँदा व्यापक रुपमा सञ्चार माध्यममा छाएकाहरुको अहिले अत्तोपत्तो नै छैन ।

केही मिस नेपालले भने ग्ल्यामरको क्षेत्रमा रहेर आफ्नो नामलाई यथास्थानमा राख्न सफल भए ।निजी कम्पनी ‘हिडन ट्रेजर’ ले आयोजना गर्दै आएको यो प्रतियोगिताले अहिलेसम्म २४ जना सुन्दरी जन्माएको छ ।

के गर्दै छन् त मिस नेपाल ?

रुवि राणा :

नेपालको पहिलो मिस नेपाल रुवि राणा हुन् । सन् १९९४ मा पहिलोपटक भएको मिस नेपाल प्रतियोगितामा वीरगन्जकी रुविले २१ प्रतिस्पर्धीलाई उछिनेकी थिइन् । त्यतिबेला उनको उमेर २० वर्षको थियो । मिस नेपाल भएपछि उनी केही समय अभिनय र मोडलिङमा सक्रिय भइन् । उनको अभिनय र मोडलिङ क्षेत्रतर्फको सक्रियता धेरै समय टिक्कन सकेन । यस क्षेत्रलाई निरन्तरता दिन नसकेपछि उनले ब्यूटिसियनको पेशा अँगालिन् ।

सुमी खड्का :

काठमाडौँकी सुमी खड्काले सन् १९९५ मा भएको मिस नेपालको दोस्रो संस्करणमा ताज पहिरन सफल भइन् । उनले २१ वर्षकै उमेरमा मिस नेपालको उपाधि जितेकी हुन् । ताज पहिरिएलगत्तै उनले अभिनयको क्षेत्रमा हात हालिन् । चलचित्र ‘सुपरस्टार’बाट सिने क्षेत्रमा प्रवेश गरेर उनले केही चलचित्रमा काम पनि गरिन् । तर, उनका चलचित्रले खासै सफलता पाएनन् । त्यसपछि एयर होस्टेसको रूपमा काम थालिन् । विवाहपछि भने सुमी श्रीमानको साथमा अमेरिकामा रहँदै आएकी छिन् ।

पुनम घिमिरे :

नेपाली सबैभन्दा कान्छी मिस नेपाल हुन्, पुनम घिमिरे । १६ वर्षको उमेरमा नै पुनमले मिस नेपालको ताज पाउन सफल भइन् । पेशाले नर्स पुनम घिमिरेले सन् १९९६ को मिस नेपालमा बाजी मरेकी हुन् । पारेपछि उनले ‘त्रिकोण’ नामक टेलिसिरियलमार्फत् अभिनय यात्रा सुरु गरिन् । तर, निरन्तरता भने दिन सकिनन् । एक वर्ष नेपाल टेलिभिजनमा समाचारवाचकको रूपमा पनि काम गरेकी पुनम हाल योगदान फाउन्डेसन र अम्बरकास्ट सफ्टवेयर कम्पनीमा कार्यरत छिन् ।

निलिमा गुरुङ :

निलिमा गुरुङ मिस नेपालको ताज पहिरिने पहिलो जनजाति सुन्दरीमा पर्छिन् । १९९७ मा सम्पन्न मिस नेपाल प्रतियोगितामा पोखराकी स्थायी निलिमाले १९ वर्षको उमेरमा मिस नेपालको ताज पहिरिएकी थिइन् । निलिमाले त्यसपछि केही म्युजिक भिडियोमा समेत काम गरिन् । तर, मोडलिङमा खासै जम्न सकिनन् । त्यसपछि उनी पोखरामै आफ्नै ब्यवसायमा सक्रिय भइन् । आफ्नो ताजको खासै उपयोग र महत्व दिन नसकेकी यी मिस नेपाल आजभोलि यूकेमा बस्दै आएको बताइन्छ ।

झरना बज्राचार्य :

निलिमा गुरुङ मिस नेपाल भएकै वर्ष भएको अर्को प्रतियोगिताबाट झरना बज्राचार्य ‘मिस वल्र्ड नेपाल’ घोषित भइन् । ती मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली सुन्दरी हुन् । उनले पनि केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिन् । म्युजिक भिडियोहरू रुचाइए पनि चलचित्रहरू भने व्यावसायिक रूपमा सफल हुन सकेनन् । त्यसपछि केही समय योगा इन्स्ट्रक्टरका रूपमा पनि काम गरिन् । मलेसियन मूलका व्यापारी राहुल अग्रवालसँग विवाह गरेपछि भने झरना परिवारसँग उतै बस्दै आएकी छिन् ।

निरु श्रेष्ठ :

सन् १९९८मा मिस नेपाल भएकी ज्योति प्रधानले आफ्नो ताज सुरक्षित राख्न सकिनन् । अर्थात् उनी मिस नेपाल भएको एक वर्षमै आफ्नो ताज छोडेर अमेरिका भासिइन् । उनी अमेरिका गएपछि आयोजक समितिले उनको ताज खोसेर तत्कालीन दास्रो रनर अप निरु श्रेष्ठलाई मिस नेपाल घोषणा गरेका थियो । निरूलाई मिस नेपाल घोषणा गरेको केही समयपछि मात्र ज्योति नेपाल फर्किन् । निरुले पनि ताज मात्रै पहिरिन्, सक्रिय रुपमा नेपालका लागि केही योगदान दिन सकिनन् । उनी केही वर्षअघिसम्म अमेरिकाको एयरलाइन्समा कार्यरत थिइन् ।

श्वेता सिंह :

१९९९ की मिस नेपाल श्वेता सिंहलाई मिस नेपाल घोषणा गर्दा आयोजक संस्थाले धाधली गरेको भनेर निकै आलोचना गरियो । श्वेता अहिले हरेक वर्ष हुने मिस नेपाल प्रतियोगीलाई प्रशिक्षण दिने गर्छिन् ।

उषा खड्गी :

सन् २००० मा मिस नेपालको उपाधि जितेपछि निरन्तर सक्रिय रहेकी उषा खड्की फेसन डिजाइनरका रूपमा ब्यस्त छिन् । उनको काठमाडौंस्थित कुपण्डोलमा आफ्नै बुटिक छ । मिस नेपालहरुमा रुवीको सुन्दरताको अझैं पनि उत्तिकै प्रशंसा हुने गर्छ । मिस नेपालपछि उषाले मिस वल्र्ड यूकेमा सहभागिता जनाइन्, तर कुनै उपाधी जित्न सकिनन् । उनी कार्यक्रम प्रस्तोता जीपी तिमल्सीनासँग विवाह बन्धनमा बाँधिएकी छिन् । वैवाहिक जीवन सुरु गरेपछि उनले व्यावसायिक रूपमा बुटिक सञ्चालन गर्दै आएकी छिन् ।

माल्भिका सुब्बा :

माल्भिका सुब्बा अहिलेसम्म मिस नेपाल भएकामध्ये सबैभन्दा प्रतिभाशाली सुन्दरीमा गनिने गर्छिन् । उनी २००२ मा मिस नेपाल भएपछि थुप्रै काममा हात हालिन् । म्यूजिक भिडियो, कार्यक्रम सञ्चालिका, चलचित्र हुँदै फिल्म निर्माणको काममा समेत सक्रिय छिन् । साल्सा प्रशिक्षक रियाज श्रेष्ठसँग विवाह गरेकी उनको एक छोरा छन् । हाल हिमालय टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत छिन् । मिस नेपाल घोषणा भएका अन्य सदस्यभन्दा बेग्लै किसिमको शाख बनाएकी माल्भिका अझै पनि धेरै युवतीहरुको आइडियल लेडीका रुपमा चर्चित छिन् ।

प्रिति सिटौला :

२२ वर्षको उमेरमा सन् २००३ मा प्रिति सिटौलाले मिस नेपाल उपाधी हात पारिन् । त्यसपछि उनले अमेरिकाबाट पब्लिक रिलेसन र साइकोलोजीमा स्नातकोत्तर गरिन् । नेपाल फर्केपछि उनी आइपीडी (इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट) नामक कम्पनीमा कार्यरत छिन् । अन्य सामाजिक गतिविधिमा पनि उनी सक्रिय छिन् ।

पायल शाक्य :

सन् २००४ की मिस नेपाल पायल शाक्य मिस नेपाल भएपनि खासै चर्चामा आउन भने सकिनन् । मिस नेपालपछि उनको खासै चर्चा समेत भएन, न त केही विशेष काम नै गरिन् । मिस नेपाल भएको दुई वर्षपछि नै पायल अष्ट्रेलिया उडिन् । अष्ट्रेलियामा लामो समय गुमनाम जीवन बिताइरेहकी उनी सन् २०१० मा गुठी अष्ट्रेलियाको सांस्कृतिक दूत भएकी थिइन् ।

सुगारिका केसी :

सन् २००५ की मिस नेपाल सुगरीका केसी मिस नेपालहरुमा धेरै चर्चामा रहिन् । मिस नेपाललाई प्रशिक्षण दिने काममा पनि उनले राम्रै योगदान दिइन् । रेडियो जक्कीका रुपमा समेत केही समय काम गरेकी सुगरिका पछिल्लो वर्ष व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षकका रूपमा सक्रिय छन् ।

शीताष्मा चन्द :

२३ वर्षको उमेरमा सन् २००७ को मिस नेपालको ताज पहिरने सफल मिस नेपाल हुन् शीताष्मा चन्द । ललितपुरकी शीताष्मा पनि मिस नेपाल भएको लामो समयसम्म टिकी रहन सकिनन् । खेलकुदमा केही समय सक्रिय रहेकी शीताष्मा एकाएक मिडियाबाट हराइन् । हाल उनी अस्ट्रेलियाली श्रीमान् बेन प्रिन्ससँग एक छोरासहित दुबईमा बस्दै आएको बताइन्छ ।

जेनिशा मोक्तान :

जेनिशा मोक्तान सन् २००९ की मिस नेपाल हुन् । उनले मोडलिङ क्षेत्रबाट पनि चर्चा बटुलिन् । मिस तामाङ र विभिन्न प्रतिस्पर्धामा सहभागीहुँदै मिस नेपालको ताज पहिरिएकी जेनिशाले कुनै समय मोडलिङमा जमेर काम गरेकी थिइन् । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । केही समयअघि मात्र जेनिशाले व्यवसायी डिकेश मलहोत्रासँग विवाह गरेकी हुन् ।

सदीक्षा श्रेष्ठ :

२०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ हालसम्म अविवाहित छिन् । मिस नेपालपछि उनी अहिलेसम्म विभिन्न कार्यक्रममा उद्घोषिकाको रुपमा काम गर्दै आएकी छिन् । अहिलेसम्म दर्जनौं विज्ञापनमा समेत देखा परेकी छिन् । हाल हिमालय टेलिभिजनमा कार्यक्रम चलाउँदै आएकी उनलाई चलचित्र र म्युजिक क्षेत्रमा काम गर्न धेरैले सुझाब दिएका थिए, तर उनी विज्ञापन र सार्वजनिक कार्यक्रममा भुलिन् । सन् २०१७ मा एशियन इन्स्च्यिुट अफ टेक्निोलोजी थाइल्याण्डवाट बिजनेश एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर तहमा विशिष्ट श्रेणी सरहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम भएकी सदीक्षाको सुन्दरताको चर्चा सधै हुने गरेको छ । केही विज्ञापनमा मोडलिङसमेत गरेकी सदीक्षा फेसनको दुनियाँँमा सक्रिय छिन् ।

मलिना जोशी :

धरानकी मलिना जोशी २०११ मा मिस नेपाल भएपछि म्युजिक भिडियो तथा केही चलचित्रमा अभिनेत्रीका रूपमा काम गरिन् । तर, उनी चलचित्र क्षेत्र र मोडलिङ दुनियाँमा सोचेजस्तो सफल भइनन् । डेब्यू चलचित्र ‘ऋतु’ देखि अहिलेसम्म अभिनय गरेका चलचित्रहरु द विनर, रानी, लिला, तिमी हुन्छौं जहाँ जहाँ औषतको व्यापार पनि गर्न नसक्दा मलिनालाई चलचित्र क्षेत्रप्रति निराशा जागेको छ । निर्माताहरु पनि उनलाई लिएर चलचित्र बनाउन खोजेका छैनन् ।

सृष्टि श्रेष्ठ :

२३ वर्षको उमेरमा सन् २०१२ को मिस नेपालको ताज सृष्टि श्रेष्ठले हात पारिन् । मिस वल्र्ड प्रतियोगिताको टप २० मा पर्न सफल पहिलो मिस नेपाल पनि हुन् उनी । केही नेपाली र हिन्दी गीतमा मोडलिङ गरेकी सृष्टिले चलचित्र ‘गाजलु’ बाट नेपाली सिनेक्षेत्रमा पनि प्रवेश गरिन् । उनले चलचित्र ‘रोमियो एन्ड मुना’, ‘पोइ पर्यो काले’ लगायत चलचित्रमा काम गरिसकेकी छिन् ।

ईशानी श्रेष्ठ :

ईशानी श्रेष्ठ २०१३ मा मिस नेपालको उपाधि जित्न सफल भइन् । ईशानी पेशाले दन्त रोग विशेषज्ञ हुन् । उनी अहिले अमेरिकामा छिन् । उनी इन्डोनेसियामा भएको मिस वल्र्ड प्रतियोगितामा ब्युटी विथ पर्पोज उपाधि जित्न सफल सुन्दरी हुन् । उनले प्रतियोगिताको द पिपल्स च्याम्पियन (मल्टिमिडिया) मा पनि तेस्रो स्थान बनाइन् । मिस वल्र्ड प्रतियोगिताको टपटेनमा पुग्न सफल पहिलो नेपाली सुन्दरीसमेत हुन्, ईशानी ।

सुबिन लिम्बू :

२३ वर्षको उमेरमा मिस नेपाल २०१४ को ताज सुबिन लिम्बूले हात पारिन् । यद्यपि, उनको चर्चा कहिल्यै भएन । हाल उनी ब्रिटिस गोर्खा नेपाली परिषद् नेपाल समितिको अध्यक्षका रूपमा कार्यरत छिन् ।

इभाना मानन्धर :

इभाना मानन्धर २३ वर्षको उमेरमा सन् २०१५ मा मिस नेपालको उपाधि जित्न सफल भएकी हुन् । मानन्धरले अमेरिकाको विल्क्स विश्वविद्यालयबाट स्नातक गरेकी छिन् । उनी अहिले मेन्स्ट्रो हाइजिन (छाउपडी अन्त्य गर्नका लागि जनचेतना जगाउने संस्था), सार नेपाल (वृद्घवृद्धालाई टेक्नोलोजीसम्बन्धी जानकारी दिने संस्था)को गुडविल एम्बेसडर भएर काम गरिरहेकी छिन् । उनी इन्धन प्रयोग गर्नु नपर्ने खालको वातावरणमैत्री सवारी साधन सञ्चालन गर्ने तयारीमा छिन् । इभाना २० औँ मिस नेपाल हुन् ।

अश्मी श्रेष्ठ :

सन २०१६ मा मिस नेपाल बनेकी अश्मि श्रेष्ठ २२ वर्षको उमेरमा मिस नेपाल बनिन् । मिस नेपाल भएपछि उनले नेपाललाई विश्वसामु चिनाउन कम्मर कसेर लाग्ने बताएकी थिइन् । मिस वल्र्ड प्रतियोगितामा ब्युटी विथ पर्पोजको टप फाइभमा पुग्न सफल भएकी थिइन् । तर त्यसपछि उनि पुरानै शैलीमा फर्किएकी छिन् अर्थात् गुमनाम जस्तै । त्यतिबेला ग्ल्यामर क्षेत्रमा आउने चर्चा पनि थियो, तर अहिलेसम्म उनले यो क्षेत्रमा आउने छाँटकाट पनि देखाएकी छैनन् ।

निकिता चन्दक :

मिस नेपाल २०१७ की विजेता हुन निकिता चन्दक । उनी २२ औं मिस नेपाल हुन् । उनले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी भइन् । उनले पुणे फेसन विक–२०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो जस्ता फेशन शो हरुमा ¥याम्प नापेकी थिइन् । निकिता २०७५ सालमा चलचित्र क्षेत्रमा भित्रिइन् । तर, दुःखद् कुरा उनको डेब्यु चलचित्र रानीमहल छायांकन नसक्दै बीचमै रोकियो । हाल उनी विराज भट्टको नयाँ चलचित्र साङ्लोको काममा ब्यस्त छिन् ।

श्रृङ्खला खतिवडा :

‘मिस नेपाल २०१८’ की विजेता हुन् श्रृङ्खला खतिवडा । ‘मिस वल्र्ड’को प्रतिस्पर्धाका क्रममा उनले दिएको अभिव्यक्तिले नेपालीलाई मात्रै नभएर विश्वका धेरै मुलुकका दर्शकहरुलाई मोहित बनाउन सफल भइन् । विगतमा मिस नेपालभन्दा श्रृङ्खलामा धेरै बौद्धिक क्षमता छ भन्दा कुनै फरक नपर्ला । उनले त्यो समयमा दिएको फरक विचार साथै अभिव्यक्ति र उनको स्वभावले उनी चर्चाको शिखरमा पनि पुगेकी छन् । २०१८ की मिस नेपाल श्रृंखला खतिवडा मिस वर्डको टप १२ मा पुगेर फर्किन सफल भइन् । मकवानपुर हेटौँडाकी खतिवडाले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर अध्यन गरेकी छिन् । अहिले उनी सामाजिक कार्यमा व्यस्त छिन् ।

अनुष्का श्रेष्ठ :

सन् २०१९ को मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । अहिले उनी बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुनका लागि तयारी गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्