देशैभर क्रिसमसको रौनक



काठमाडौं: विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ ।

 

धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् । क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउन थालिएको छ ।

 

क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न सहयोग गर्ने जनस्तरमा विश्वास गरिएको छ । पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने नयाँ सडकस्थित आर्चिच गिफ्टसपका गणेश रेग्मीले बताए । ‘पर्वका लागि विभिन्न उपहार खरिद गनुको साथै सान्ताको लुगा बढी विक्री हुन्छ ।’ उनले भने ।

 

बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ’क्रिसमस इभ’ भन्दै सबै धर्मालम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकषर्णका बारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्काले भने, ‘केही युवाले फेसनका रूपमा यो पर्व मनाएको देखिए पनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि क्रिसमसमा आकर्षण बढेको छ ।’

 

क्रिसमस धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस पर्व विविध कार्यक्रम आयोजना गरी मनाइन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।  मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको किम्वदन्ती छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा ईस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ ।

 

सबैको प्रिय सान्टा

क्रिसमस इभमा सान्टाले ज्ञानी बच्चाहरुलाई सुतिरहेको समयमा कुनै सरसमामन ‘गिफ्ट’ छोड्ने विश्वास गरिन्छ । सान्टा को थिए त ? सय वर्षअघि भिक्षु सेन्ट निकहोलसको टर्कीमा जन्म भएको थियो । निकहोलसले विभिन्न ठाउँमा गरिवहरुलाई मद्दत गर्दै हिड्थे । निकहोलस युरोपमा सान्टाको रूपमा परिचित थिए । त्यसैले पनि यस दिन निकहोलसको सम्झनामा सान्टा बनेर मिठाइ दिने गरिन्छ ।

 

क्रिसमस वृक्ष

क्रिस्चियनहरुले क्रिसमसको दिनमा सल्लाको वृक्ष (क्रिसमस ट्रि) लाई सजाएमा बर्षभरि हरियो हुने विश्वार गरिन्छ । ‘क्रिसमस ट्रि’ सधैँ हरियो रुखमा विभिन्न किसिमका हिउँको थुप्लो जस्तो सेतो कपासले सजाइन्छ । क्रिसमस ट्रिमा रङ्गीचङ्गी वत्ती राखेर सजाउने गरिन्छ ।

 

 

क्रिसमस वृक्ष सजाउने परम्परा १६ औं शताब्दीमा लिमोनिया र जर्मनीबाट आएको हो । केही इतिहासकारले क्रिसमसको समयमा सल्लाको रुखमा क्यान्डल, बत्तीहरूले सजाएमा त्यो चढी स्वर्गसम्म पुग्ने विश्वास रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्