गोंगबुका ८ वर्षीय बालकको हत्यामा संलग्न महेन्द्र जेल चलान



काठमाडौं: गोंगबुस्थीत स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।

 

मंसिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो ।

 

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईले जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकोमा अदालतको आदेश अनुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए ।

 

मंसिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो । सार्की स्वस्तिक त्रिवेणी गेष्ट हाउसका चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्