मुलुक ५७ अर्ब घाटामा



काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चार महिनामै शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका बाबजुद पनि आयात उच्च दरले बढेका कारण शोधनान्तर घाटा बढ्दै गएको उल्लेख छ। चालु आर्थिक वर्षको तेस्रो महिनासम्म शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रुपैयाँ थियो। एक महिनामा झन्डै २२ अर्ब रुपैयाँ घाटा बढेको हो ।

 

शोधनान्तर मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो। समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड रुपैयाँ छ। गत वर्ष सोही अवधिमा चालु खाता घाटा ४८ अर्ब ९८ करोड रुपैयाँ थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा तीन खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा रेमिट्यान्स गत वर्षको तुलनामा ३६.४ प्रतिशतले वृद्धि भएको छ।

 

रेमिट्यान्स अमेरिकी डलरको आधार पनि बढेको छ। अमेरिकी डलरमा गणना गर्दा कुल दुई अर्ब ७३ करोड अमेरिकी डलरबराबर रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा गणना गर्दा गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स बढेको हो। यस आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ९५ करोड रुपैयाँ छ। गत वर्ष सोही अवधिमा १० अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा रेमिट्यान्स गत वर्षको तुलनामा ३६.४ प्रतिशतले वृद्धि भएको छ।

 

यस अवधिमा चार खर्ब ८४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने २८ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ। समीक्षा अवधिमा आयात ३६ प्रतिशत र निर्यात ११ प्रतिशतले वृद्धि भएको हो ।

 

मुलुकको विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। असार मसान्तसम्म १० अर्ब आठ करोड डलर विदेशी विनिमय सञ्चिति रहेकोमा कात्तिक मसान्तसम्म नौ अर्ब ४३ करोड रुपैयाँमात्र सञ्चिति छ। यो विनिमय सञ्चितिले ७.९ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने नेपाल राष्ट्र बैंकले जनाएको अन्नपुर्णमा खवर छ ।

 

विदेशी विनिमय सञ्चितिको नियमित स्रोत नभएको मुलुकका लागि विदेशी विनिमय सञ्चितिले आठ महिनाभन्दा कमको आयात धान्न मात्र पर्याप्त हुनु जोखिमको संकेत भएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्। समीक्षा अवधिमा मूल्यवृद्धि ४.२ प्रतिशत छ। गत महिनाको तुलनामा मुद्रास्फिति भने केही घटेको हो ।

प्रतिक्रिया दिनुहोस्