प्रधानमन्त्रीका सल्लाहकारसहित सचिवालयका सबैले दिए राजीनामा, यस्तो छ मन्त्रीमण्डल हेरफेरको तयारी



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा रहेका सल्लाहकार र सचिवालयका अन्य सदस्यहरुका कारण पार्टी भित्रैबाट चर्को आलोचना हुँदै आइरहेको बेला प्रधानमन्त्री ओलीले आफ्नो टिमका सदस्यहरुबाट राजीनामा लिएका छन् ।

शुक्रबार साँझ सल्लाहकारसहितको सचिवालय टिमलाई राजीनामा दिएर आफूलाई सजिलो पार्न दिएको प्रधानमन्त्री ओलीको निर्देशनलाई पालनमा गर्दै सल्लाहकार तथा सचिवालयका सबैले शनिबार साँझ राजीनामा दिएको बालुवाटार उच्च स्रोतल बताएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका विषयमा ओली निकटका नेताहरुले पनि तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका थिए । सचिवालयकै कारण प्रधानमन्त्री ओली पहुँच बाहिर रहेको, नेताहरुले सहज भेटघाट गर्न नपाएको र सरकारले गरेका राम्रा कामहरुको पनि सकारात्क सन्देश प्रवाह हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।

सचिवालयको नयाँ व्यवस्थापनपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेको पनि बताइन्छ । यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसँग घनिभुत छलफल भइरहेको स्रोतले बताएको छ । आगामी मंसिर १४ गते हुन गइहरको उपनिर्वाचनलाई मध्यनजर राखेर त्यस अगाडी मन्त्रीमण्डल हेरफेर नगर्ने सोच बनाएका प्रधनमन्त्री ओलीले उपनिर्वाचन सकिएलगत्तै मन्त्रीमन्ण्डल हेरफेर गर्ने गरी गृहकार्य अगाडी बढाएको बताइन्छ ।

यसै क्रममा प्रधानमन्त्री ओलीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिएका हुन् । सचिवालयका एक सदस्यले १ मंसिरबाट लागू हुने गरी मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिएको द नेपालटपलाई बताए ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल हुन् । उनको कार्यशैलीप्रति नेकपा शीर्ष नेतासमेत असन्तुष्ट छन् । नुवाकोट चारघरे स्थायी घर भएका रिमाल नेकपाको स्थायी समिति सदस्य हुन् । उनले नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) मा लामो समय नेतृत्व गरेका थिए ।
तत्कालीन एमाले पोलिटब्यूरो सदस्य रिमाल पार्टी एकतापछि स्थायी समिति सदस्य भएका छन् । दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद बनाइएका थिए। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनी प्रमुख सल्लाहकार थिए ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार हुन् राजन भट्टराई काठमाडौं ४ बाट तत्कालीन नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी गगन थापासँग ३ हजार बढी मतले पराजित भएका थिए ।

२०२५ सालमा जन्मिएका भट्टराईले इन्टरनेसनल डिप्लोम्याटिक प्राक्टिसमा स्नातकोत्तर गरेका भट्टराईले भारतको जवारलाल नेहरु विश्वविद्यालयबाट भारत र चीन सम्बन्धमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोणमा विद्यावारिधि गरेका हुन् ।

भट्टराई तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । पार्टी एकतापछि उनले नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल आमसञ्चार तथा पत्रकारीता केन्द्रीय विभागका उपप्राध्यापकसमेत हुन् । ओलीका प्रविधि सल्लाहकार हुन् अस्गर अली नेपालमा अनलाइन भुक्तानी सेवाको सुरुवातकर्ता हुन् । उनी ई–सेवा भुक्तानीका सञ्चालक हुन् ।

त्यसैगरी प्रधामन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी र रामशरण बजगाईं रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्